काठमाडौ–नुवाकोटफोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा भएको उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।
फोहर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ। प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरका अनुसार ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको हो।
अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापछि च्यापिएर उनीहरुको मृत्यु भएको उनले जानकारी दिए। ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्काभेटर मगाइएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन्। रासस