काठमाडौं– झन्डै डेढ महिनाअघि सिराहाको लाहानबाट बेपत्ता पारिएको भनिएको डिजेल ट्याङ्करमा रहेको तेलको क्षतिपूर्ति ढुवानीकर्ताबाट असुल्ने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ।
नाटकीय शैलीमा हराएको भनिएको निगमको उक्त ट्याङ्करमा २०,००० लिटर डिजेल बापतको क्षतिपूर्ति ढुवानीकर्ता राजेशकुमार गुप्ताले बेहोर्नुपर्नेछ। बेपत्ता हुँदाको समयमा प्रचलित दरअनुसार त्यो परिणामको डिजेलको मूल्य १९ लाख ३० हजारको दोबर हुनेगरी ३८ लाख ६० हजार रुपैयाँ निगमको खातामा जम्मा गर्न गुप्तालाई निर्देशन दिइएको निगमले बताएको छ।
निगमले ढुवानीकर्ताबाट उक्त रकम असुल गर्ने निर्णय गरे पनि ढुवानीकर्ता गुप्ता भने निगमको सम्पर्कमा नरहेको बताइएको छ।
मिलेमतो
उक्त ट्याङ्कर निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित डिपोका लागि जाँदै गर्दा अपहरणको नाटक रचिएको बताइएको छ। उक्त डिजेल टयाङ्करका चालक र ढुवानीकर्ताका सहयोगीको मिलेमतोमा अपहरणको नाटक रचिएको पत्ता लागेको आयल निगमका प्रदेश नम्बर १ का प्रमुख अशोक साहले बीबीसीलाई बताए।
उनले भने, “ढुवानीकर्ताले सम्झौताअनुसार तोकिएको परिमाण तोकिएको ठाउँसम्म ढुवानी नगरेर चोरीमार्फत् निगमलाई नोक्सानी र्पुयाउने गम्भीर अपराध गरेका छन्।’’
यो कुरा पत्ता लागेपछि क्षतिपूर्ति भराउने निर्णय भएको हो। घटनाको छानबिनका लागि निगमको केन्द्रीय कार्यालयले एउटा समिति गठन गरेको थियो। समितिको प्रतिवेदन र प्रहरीको अनुसन्धानबाट चालक दलका सदस्य र ढुवानीकर्ताका कर्मचारीको मिलेमतोमा डिजेल अन्यत्रै बेचेको पत्ता लागेको बताइएको छ।
डिजेल कहाँ बेचियो?
चोरी गरिएको डिजेल कसलाई बेचिएको भन्ने कुरा अझै खुलेको छैन। तर डिजेल चोरीलगत्तै भने ढुवानीकर्ता गुप्तालाई निगमले स्पष्टीकरण सोधे पनि सो कुरा खुलेको थिएन। सिराहा, धनुषा र महोत्तरी आसपासका पेट्रोल पम्पहरूको तत्काल मौज्दात परीक्षण गर्दा कतै बढी डिजेल नभेटिएको छानबिन समितिको निष्कर्ष छ।
घटना के थियो?
गत मङ्सिर १ गते उक्त ट्याङ्कर विराटनगर डिपोतर्फ आउँदै गर्दा त्यसमा रहेका तीन कर्मचारीसहित सिराहाको लाहानबाट अपहरणमा परेको खबर फैलिएको थियो। ती कर्मचारीहरूले रातको समयमा एक अज्ञात समूहले टयाङ्करबाट निकालेर हातखुट्टा बाँधेर आँखा र मुखमा पट्टी बाँधिदिएको दाबी गरेका थिए।
ती तीनै जनाले आफूहरूलाई अर्कै गाडीमा हालेर राति सिन्धुली–बर्दिबास सडकखण्डको जङ्गलमा छोडेर बताएका थिए। उक्त घटना विवरण ढुवानीकर्ता गुप्ताले निगमको विराटनगर कार्यालयलाई जानकारी गराएका थिए।
पछि चालकसहित कर्मचारी जङ्गलबाट मुक्त भएको तर डिजेल बोकेको टयाङ्कर हराएको सूचना आएपछि प्रहरीले खोजी थाल्यो।प्रहरीले धनुषाको ढल्केबर–जनकपुर सडकखण्डको महेन्द्रनगर भन्ने ठाउँमा बेवारिसे अवस्थामा खाली ट्याङ्कर फेला पारेको थियो।
‘अपहरणको नाटक’
अनुसन्धानका क्रममा पक्राउ परेका चालकसहित कर्मचारीको बयानअनुसार प्रहरीले सिराहा, धनुषा र महोत्तरीका सडक र चोकमा राखिएका सीसीटीभीबाट फूटेज सङ्कलन गरेको थियो।
सिराहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुवेर्दीले भने, “ट्याङ्कर आउजाउ गरेको समय, रूट र त्यसमा रहेकाहरूले दिएको बयान नमिलेपछि ढुवानीकर्ताहरूमाथि नै अनुसन्धान गरेका थियौँ।’’ अनुसन्धानमा डिजेल बेच्ने उद्देश्यले अपहरणको नाटक रचिएको पत्ता लागेको चतुर्वेदीले बताए। अहिले उक्त प्रकरणमा संलग्न चालक, सहचालक र कर्मचारीविरुद्ध चोरी मुद्दा चलाइएको छ।