काठमाडौं– काठमाडौंका चोक–चोकमा रहेका होर्डिङ बोर्ड आजबाट हटाउने काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा टोली परिचालन गरी होर्डिङबोर्ड झिक्न थालिएको छ।
महानगरपालिकाले ४ वटा कार्यदल बनाएर यो अभियान चलाएको छ। बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो।
महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बनाएर कार्यदललाई ४ वटामा विभाजित गरी काम सुरु गरिएको छ।
सर्वोच्चले काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन ४ वर्षअघि नै आदेश दिएको थियो। ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड निषेध गरेको थियो।