काठमाडाैँ– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले १८ प्याकेजको ब्रोडब्याण्ड विस्तार परियोजना मध्ये एउटा प्याकेजको परियोजना आवेदन मूल्यांकनकै क्रममा रद्द गरेको छ। आवेदन दिएका कुनै कम्पनी पनि योग्य नभएपछि मूल्यांकन चरणबाटै परियोजना रद्द गरिएको हो।
चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा ब्रोडब्याण्ड विस्तार गर्ने प्याकेजको आवेदन प्रक्रिया रद्द गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिएका हुन्। प्राधिकरणले रद्द गरेको यो प्याकेजको नयाँ बोलपत्र भोली नै आह्वान गर्ने उनको भनाई छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजनाको हालसम्म ५१ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
उक्त परियोजना अन्तर्गत देशका विभिन्न स्थानीय तहका कार्यलयहरु, विद्यालय, स्वास्थ चौकीहरुमा ब्रोडब्याण्ड नेटवर्क विस्तार गरिएको छ। उक्त परियोजनाको बोलपत्रमा वल्र्डलिंक, सुबिसु, भायनेट, टेक माइण्ड्स र क्लासिक टेकले ठेक्काका लागि प्रस्ताव गरेका थिए।