एजेन्सी– कजाकस्तानमा शुक्रबार भएको बेक एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। स्थानीय अल्माटी विमानस्थलबाट उड्नासाथै सो विमान दुर्घटना भएको थियो। विमान दुई तले घरमाथि खसेको थियो।
सरकारले सो घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ। घटनामा कम्तीमा ६० जना घाइते भएको र त्यसमा केटाकेटी पनि रहेको जनाइएको छ। घाइतेलाई अस्पताल लगिएको छ। फ्लाइट जेड ९२१०० अल्माटीबाट राजधानी नुरसुल्तान जान लागेको थियो। रोयटर्सले जनाएअनुसार सो क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो।
अल्माटी विमानस्थलले जनाएअनुसार सो विमानमा ९३ यात्रु र ५ जना चालक दलका सदस्य सहित ९८ जना थिए। यात्रुको पूर्ण विवरण कजाकस्तानको आन्तरिक मामिला मन्त्रालयले प्रकाशित गरेको छ।
विमानमा ८५ बयस्क, ५ केटाकेटी, तीन जना शिशु थिए। दुर्घटनामा बचेकी यात्रु माराल इर्मानले उड्नासाथै सो बिमान हल्लिएको बताएकी छन्। पहिला यो विमान ल्यान्ड गरेको जस्तो महसुुस भएको थियो। तर, वास्तवमा हामी केहीमा ठोक्किएका रहेछौं।
कोही पनि नचिच्याएको उनले जनाएकी छन्। चालक दलका सदस्यले विमानबाट बाहिर निस्कनका लागि यात्रुलाई ढोका खोलिदिएका थिए। पछि सो विमान टुक्रिएको आफूले देखेको उनले टेन्ग्री न्युज वेवसाइटलाई बताएकी छन्।
प्रारम्भिक सूचनाका अनुसार मृत्यु हुनेमा ६ बालबालिका छन्। सो दुर्घटना लगत्तै बेक एयरले आफ्ना सबै उडान रद्द गरेको छ। अल्माटी विमानस्थलले आफूले नियमित जस्तै अन्य विमानको उडान सुरु गरेको जनाएको छ। बीबीसी