एजेन्सी — भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबी आत्महत्या गरेका छन्। उनी ३७ वर्षका मात्रै थिए।
भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन्। बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ। रिपोर्टका अनुसार कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए। साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको थियो।
कुशालको मृत्युको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका छन्। करनवीरले आफ्ना साथी कुशालका लागि एउटा नोट लेखेका छन्।
जसमा उनले भनेका छन्, ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन। मलाई थाहा छ तिमी यहाँ भन्दा राम्रो स्थानमा छौ। तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ। म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु।’
कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए। उनले आफ्नो टिभी करियरको सुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए।
त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए। कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन्। उनले लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारासहित विभिन्न फिल्ममा काम गरिसकेका छन्।