काठमाडौँ, २० माघ – भ्रष्टाचारविरुद्ध बोल्ने चलचित्र ‘सयकडा दश’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थितिमा केही कमी भए पनि शनिबारदेखि बढेका छन्। माउथ पब्लिसिटी रहेकाले आइतबारबाट दर्शकको संख्या वृद्धि हुनेमा निर्माण टिम विश्वस्त छ।
रामशरण पाठक निर्देशित चलचित्र ‘सयकडा दश’ शनिबार संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्ययसहित सरकारका उच्चपदस्थ कर्मचारीले हेरेका छन्। मन्त्री पण्डितले राष्ट्रिय चलचित्र विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताका आधारमा निर्माण गर्नुपर्ने बताए। भ्रष्टाचारले समाजमा पार्ने प्रभावबारे चित्रण गरिएको चलचित्र ‘सयकडा दश’लाई राष्ट्रिय चलचित्र भन्न सकिने पनि मन्त्री पण्डितले बताए।
चलचित्र हेर्दा आफू पटक–पटक रोएको बताउँदै उक्त चलचित्र युवाले एकपटक हेर्नैपर्ने पनि मन्त्री पण्डितले सुझाव दिएका छन्। उनले भने, ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत रहेको छ ।’ मन्त्री पण्डितले अभिनेता एवं निर्माता राजाराम पौडेलको अभिनयको निकै प्रशंसा गरेका छन्। यस चलचित्रमा पौडेलको भूमिका एक भ्रष्ट सरकारी अधिकृतको रहेको छ।त्यस्तै मुख्यसचिव रेग्मीले चलचित्र समसामयिक र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी अख्तियारका पूर्वप्रमुख उपाध्यायले चलचित्र भ्रष्टाचार नियन्त्रणका लागि सशक्त माध्यम भएको बताए। उनले भने, ‘सयकडा दश’ भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो, तसर्थ, सरकार मात्र होइन, नागरिकसमेत यसतर्फ चेतनशील हुन जरुरी छ।’
चलचित्र ‘सयकडा दश’मा राजाराम पौडेलका साथै मनोज गजुरेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रलाई गतसाता थाइल्यान्ड र म्यानमारमा पनि प्रदर्शन गरिएको थियो।