काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई रु ४० हजारसहित शुुक्रबार पुरस्कृत गरेको छ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका प्रवीण श्रेष्ठलाई रु २५ हजार तथा तेस्रो हुने दयासागर केसीलाई रु १५ हजारसहित पुरस्कृत गरिएको हो। सान्त्वना पुरस्कार प्राप्त गर्ने स्कन्द गौतमलाई रु १० हजारसहित पुरस्कार प्रदान गरिएको छ। देशभरबाट २२१ फोटोग्राफरका करिब एक हजार फोटो प्राप्त भएको प्रतियोगितामा नेपालका अग्रज फोटोग्राफर बखतबहादुर चित्रकार, मङ्गलमोहन श्रेष्ठ, पुष्प चित्रकार, श्रीधर मानन्धर र श्याम चित्रकारलाई सम्मान गरिएको थियो।
उत्कृष्ट छनोट भएका विजेतालाई पुरस्कार प्रदान गर्दै प्रतिष्ठानका कुलपति के के कर्माचार्यले फोटोग्राफी ललितकलाको महत्वपूर्ण विधा रहेको बताए। यस किसिमको प्रदर्शनीले देशको बारेमा महत्वपूर्ण जानकारी दिनुका साथै सहभागी कलाकारलाई थप प्रोत्साहन पुग्ने उनले बताए। उपकुलपति गोपाल चित्रकारले देशभर छरिएर रहेका फोटोग्राफरको प्रतिभालाई उजागर गर्न यस किसिमको प्रतियोगिता र प्रदर्शनी महत्वपूर्ण रहेकाले यसलाई प्रतिष्ठानले निरन्तरता दिने बताए।
प्रतियोगितामा सहभागी कलाकारले देशको सामाजिक, भौगोलिक, सांस्कृतिक तथा धार्मिक सम्पदाका साथै देशको समृद्धि झल्कने ७० फोटो प्रदर्शन गरेका छन्। नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई समेटेर गरिएको प्रदर्शनी यही पुस १७ गतेसम्म नक्सालमा चल्नेछ। रासस