पोखरा– पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को शनिबार उपाधि भिडन्त हुँदैछ। उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्सले एक अर्काको सामना गर्दैछन्। खेल पोखरा रंगशालामा ११ः ३० बजे शुरु हुनेछ।
पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज अपराजित रहँदै फाइनलमा पुगेको हो। उपाधिको बलियो दाबेदार मानिएको चितवन उच्च फर्ममा रहेको छ। सन्तुलित देखिएको चितवन बलिङ, ब्याटिङ दुबैमा लयमा देखिन्छ।
प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको थियो। इलिमिनेटर खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान पक्का गरेको थियो।
उपाधि भिडन्तमा विराटनगरले चितवनलाई कडा टक्कर दिने अनुमान गरिएको छ। दुई टोलीबीचको फाइनल खेल प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुनेछ।