एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ। शुक्रबार राति भएको खेलमा सिटीले वल्भ्ससँगको शुरुवाती अग्रता जोगाउन नसक्दा ३–२ गोलको हार बेहोरेको हो।
वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरेका थिए भने सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गरेका थिए। सिटीको घरेलु मैदानमा भएको खेलको १२ औं मिनेटमा नै सिटीका गोलरक्षक इडर्सन मोरेस रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सिटी समस्यामा परेको थियो।
खेलको २१ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो। वल्भ्सका डेन्डनकरले सिटीका रियाद महारेजलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई दिएको पेनाल्टी सदुपयोग गर्न सकेन। रेफ्रीले वल्भ्सका खेलाडीले लाइन क्रस गरेको भन्दै सिटीलाई पुनः पेनाल्टी दिएका थिए।
वल्भ्सका गोलरक्षक रुइ प्याट्रेसियोले रहिमको प्रहारलाई बचाएका थिए। तर, रिवाउन्डमा रहिमले गोल गर्न सफल हुदा सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। ५० औं मिनेटमा रहिमले नै केभिन डि ब्रुयनको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। सिटीले पहिलो हाफमा बनाएको अग्रता दोस्रो हाफमा जोगाउन सकेन। दोस्रो वल्भ्सले उत्कृष्ट कमब्याक गर्दै सिटीविरुद्ध रोमाञ्चक जित निकालेको हो।
खेलको ५५ औं मिनेटमा एडमाले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे। ८२ औं मिनेटमा राहुल जिमिनेजले वेल्भ्सका लागि बराबरी गोल गरे। ८ ९औं मिनेटमा माटले गोल गर्दै वल्भ्सलाई ३–२ को रोमाञ्चक पूनरागमन जित दिलाए।
जितपछि वल्भ्स १९ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा उक्लन सफल भएको छ। पराजित सिटीले भने दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। सिटीको उपाधि यात्रा थप कमजोर बनेको छ। सिटीको १९ खेलबाट ३८ अंक छ। दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाटै ३९ अंक छ।