काठमाडौं– सहरका होडिङ बोर्ड हटाउने सरकारको निर्णयप्रति व्यवसायीहरुले असन्तुष्टि जनाएका छन्। साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेका छन्।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्नुपर्ने बताएको छ। साइनोजले ७५ हजार भन्दा बढी युवाहरु बेरोजगार हुने बताउँदै सरकारको उक्त नियर्णको विरोध गरेको हो।
साइनोजका कोषाध्यक्ष अनन्त गौतमले सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको जानकारी दिएका छन्।
विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गरे। गृहमन्त्रालयले बिहीबार सहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेको थियो।