एजेन्सी– सोमालियाको राजधानी मोगादिसुमा कार बम विस्फोटमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। करिब ९० जना घाइते भएको अनुमान गरिएको छ। सो विस्फोट शनिबार भएको थियो।
विस्फोट मोगादिसुको व्यस्त चेक प्वाइन्टमा भएको थियो।मदिन अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले एपीलाई जनाएअनुसार उनीहरुले ७३ वटा शव प्राप्त गरेका छन्।
मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। कुनै पनि समूहले अहिले सम्म जिम्मेवारी लिएको छैन।अल कायदासँग आवद्ध रहेको इश्लामी लडाकूहरुको अल शबाब समूहले विगत दश वर्षदेखि शसस्त्र युद्ध गर्दै आइरहेको छ। सो समूहलाई राजधानीबाट धपाइए पनि देशका विभिन्न भूभाग अझै उसको नियन्त्रणमा रहेको छ।
प्रत्यक्ष्यदर्शीका अनुसार घटनास्थलमा जताजतै छरिएका शवहरु छन्। विस्फोटका कारण मानिसहरुको अनुहार नचिनिने अवस्थामा रहेको छ।
एक जना सोमाली सांसद मोहम्मद अब्जीरिजकले मृतकको संख्या ९० भन्दा माथि पुग्ने अनुमान गरेका छन्। तर, उनको भनाई स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन। बीबीसी