काठमाडौं– ग्यास उद्योगीहरूलाईे प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन ९० दिनको म्याद दिइएको छ । नेपाल आयल नियमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ नलिएका उद्योगीलाई ९० दिनभित्र पीडीओ लिन चेतावनी दिएको छ।
निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने जनाएको छ। दर्ता भएका ग्यास उद्योगहरूले नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ। तर, ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माणाधीन उद्योगहरूले अझै पनि पीडीओ लिएका छैनन्।
ग्यास उद्योगीले पीडीओ लिन आनाकानी गरेका कारण उद्योगमाथि कडाइ गर्न लागिएको निगमले जनाएको छ। तोकिएको ९० दिनभित्र पनि उद्योगहरूले पीडीओ नलिएमा निगमले प्रदान गरेको अनुमति खारेज गर्ने आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन्।