रोल्पा– रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन्। रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो।
पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो। शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ।
सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ। जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताएका छन्।
‘मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन’, प्रमुख केसीले भने। गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ। मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो।
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडाँैको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो। (रासस)