काठमाडौं– औषधि व्यवस्था विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार पारेको छ। नेपालमा धेरैजसो प्रयोग हुने औषधिबारे जानकारी दिनको लागि सरकारी निकायबाट नै उक्त एप्स बनाइएको हो।
विभागका अनुसार एप्समा औषधिको प्रयोग गर्न सकिने अवस्था, औषधिको प्रयोगबाट हुने नकारात्मक असर, औषधिका डोज, नेपालमा कुनकुन ब्रान्डका औषधि उपलब्ध रहेका आदि कुराहरुको विवरण राखिएको छ।
त्यस्तै संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारेका जानकारी पनि समेटिएको छ। एप्समा नेपालमा बढी प्रयोग हुने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधिको विस्तृत विवरण राखिएको छ।
उक्त एप्स उपभोक्ता चिकित्सक तथा सरोकारवाला पक्षले औषधिसँग सम्बन्धित सूचनाको स्रोतका रूपमा प्रयोग गर्न सकुन् भनेर तयार गरिएको विभागले जनाएको छ।