काठमाडौं– नेपाली चलचित्र क्षेत्रले २०१९ केही महान हस्तीहरुलाई गुमाएको छ। चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, कलाकार दीपक क्षेत्री र कलाकार आनन्द थापालाई एकसाथ श्रद्धाञ्जली दिइएको छ। चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाको संयुक्त पहलमा उक्त श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। जसमा विभिन्न अग्रज कलाकारहरु विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित कलाकार र चलचित्रकर्मीले यी ३ जनाको मृत्युले चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको बताएका थिए। चलचित्र निर्माता संघ नेपालका अध्यक्ष आकाश अधिकारीले ३ व्यक्तित्वलाई सम्झिदै भने, ‘अहिलेसम्म उहाँ नहाँसेको फोटो देख्न पाइएन। सधै हाँसी खुसी रहने केशवजी साँच्चिकै सरल हुनुहुन्थ्यो। त्यस्तै दीपकजी र आनन्दजी पनि निकै मेहनती र राम्रो कलाकार हुनुहुन्थ्यो।’ चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र प्रविधिक संघ अध्यक्ष पुस्कर लामा, चलचित्र नृत्य निर्देशक संघका अध्यक्ष राजु शाह लगायतले भट्टराई, क्षेत्री र थापालाई सम्झिए।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्षमा शम्भुजित वास्कोटा, कृष्ण मल्ल, राजकुमार राई लगायतले पनि श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली व्यक्त गरे। विकास बोर्ड अध्यक्ष केशव भट्टराईले देखेको सपनालाई साकार गरे उनलाई सबैभन्दा ठुलो श्रद्धाञ्जली हुने उनीहरुको भनाइ थियो। पूर्वअध्यक्ष राजकुमार राईले यी तिनै कलाकारको परिवार निकै नाजुक अवस्थामा रहेकाले रोजगारीका लागि पहल गर्नुपर्ने बताए। चलचित्रकर्मी कल्याणकारी कोषकी बसुन्धरा भुसालले यी ३ व्यक्तित्वको काजक्रिया खर्चको लागि कल्याणकारी कोषबाट सहयोग गरेको बताइन्। उनले भनिन्, ‘उहाँहरुलाई फूल किन्नेदेखि गाडी जलाउने सम्मको खर्च कल्याणकारी कोषले गरेको छ। उहाँहरुको परिवारलाई केही आर्थिक सहयोग पनि पुर्याएका छौँ।’
त्यस्तै श्रद्धाञ्जली सभामा निर्देशक तुलसी घिमिरे पनि उपस्थित थिए। उनले पनि यी तीन कलाकारको मृत्युमा दुःख व्यक्त गरे। उनले भने, ‘केशव मेरै चलचित्रबाट यस क्षेत्रमा आउनु भएको थियो। आनन्द दाईसँग पनि एक चलचित्रमा काम गरेको थिए। दीपकजीसँग काम गर्न पाइन्, तर सुनेको थिए। उहाँहरुलाई गुमाउनु हाम्रो क्षति हो।’ आफ्नै चलचित्रबाट डेब्यु गरेका केशव चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि तुलसीसँग भेटेका थिए।
उक्त भेटमा तुसलीले आशिर्वादसँगै सल्लाह पनि दिएका थिए। तुलसीले उक्त कुर्सी नछोडेर काम गर्न सल्लाह दिएका थिए। तुलसी भन्छन्, ‘त्यो बेला उसले म कुर्सी छोड्दिन भनेका थिए। खोइ त, अहिले त उनी छोडेर गइसके।’ ३ जनाको लागि भनेर राखिएको श्रद्धान्जली शभामा पूराना सर्जक शुक गुरुङलाई पनि श्रद्धाञ्जली दिइएको थियो। केही दिन अगाडिमात्रै शुक पनि यस संसारबाट विदा भएका थिए। त्यसैले २०१९ साल नेपाली चलचित्रका लागि निकै दुःखद्धायी बन्यो।