एजेन्सी– हत्या गर्ने मानिस स्वयंको निधनबाहेक चार वा चारभन्दा बढी मानिस मारिनुलाई आम नरसंहार भएको मानिन्छ। वर्ष २०१९ मा अमेरिकामा ५० वर्ष यताकै उच्च आम नरसंहार भएको अनुसन्धानकर्ताले बताएका छन्।
सन् २०१९ मा मात्रै अमेरिकामा ४१ वटा आम हत्या काण्ड भएका छन् जसमा परी २ सय ११ जनाको ज्यान गएको छ। वर्ष २०१९ मा सबैभन्दा ठूलो हत्याकाण्ड अगष्ट महिनामा भएको थियो। एल पासोमा भएको उक्त काण्डमा २२ जना मारिएका थिए भने मे महिनामा भर्जिनिया बीचमा भएको काण्डमा १२ जना मारिएका थिए।
सन् २०१९ मा भएका ४१ मध्ये ३३ वटा काण्डमा बन्दुक प्रयोग गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। राज्यका हिसाबले क्यालिफोर्नियामा सबभन्दा धेरै (आठवटा) आम हत्याका घटना भएको थियो।
सन् १९७० सम्मको तथ्याङ्क हेर्दा सन् २०१९ भन्दा बढी हत्या काण्ड भएको नपाइएको एपीले जनाएको छ। सन् २००६ दोश्रो धेरै आम हत्या भएको वर्ष थियो। यो वर्ष ३८ वटा त्यस्ता काण्ड भएका थिए।
सबभन्दा धेरै हत्याकाण्ड सन् २०१९ मा भएको भएपनि सन् २०१७ मा मृत्यु हुने मानिसको सङख्या अहिलेसम्मकै धेरै छ। त्यो वर्ष २ सय २४ जनाको यस्ता हत्याकाण्डमा ज्यान गएको थियो। त्यो वर्ष लस भेगसमा भएको एउटा समारोहमा भएको आम नरसंहारमा ५९ जनाको ज्यान गएको थियो।