काठमाडौं– काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र पारिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यभार सम्हालेपछि खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएको थियो। उनले उपत्यकाका विभिन्न सडकको स्थलगत अनुगमनसमेत गर्दै आएको छ।
यसक्रममा शनिबार मन्त्री नेम्वाङले कलङ्की–नागढुङ्गा सडकखण्डको स्थलगत अनुगमन गर्दै खाल्डाखुल्डीलाई पुर्न र सवारी आवत जावतलई सुचारु बनाइराख्न निर्देशन दिए। काठमाडौँ क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया लगायत सहभागी थीए। चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल, माइतीघर–तीनकुनेलगायतका सडक खण्डमा मन्त्री नेम्वाङले अनुगमन गरेको थियो।
नयाँ बानेश्वर, पुरानो बानेश्वर, तीनकुने, थापाथली, नक्साल भगवती, कपन लगायतका क्षेत्रमा सडक कालोपत्र भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले विगतका वर्षभन्दा चालू आवमा सडक मर्मतमा बढी बजेट बिनियोजन भएको जानकारी दिए।
सडक बोर्डले चालू आवमा झण्डै ७० प्रतिशत राष्ट्रिय राजमार्गको मर्मत तथा ३० प्रतिशत बजेट स्थानीय सडक मर्मतमा खर्च गर्ने जनाएको छ। सरकारले सडक बोर्ड नेपाललाई गत आवमा भन्दा झण्डै रु तीन अर्ब बढी बजेट सडक मर्मतका लागि विनियोजन गरेको छ। उनले भने, ‘गत वर्षमा काठमाडौँ उपत्यकाका सडक मर्मतमा कम बजेट छुट्याउने गरिएकामा चालू आवमा उपत्यकाका लागि बढी विनियोजन भएको छ।’ (रासस)