काठमाडौं– नायिका स्वस्तिमा खड्का अहिलेकी नम्बर १ नायिका हुन्। कामको ब्यस्तता मात्र नभएर अवार्डमा पनि उनी त्यतिकै व्यस्त छिन्। स्वस्तिमाले अभिनय गरेका २ वटा चलचित्र यो बर्ष सुपरफ्लप भईसकेका छन्। चलचित्रले दुई दिन पनि दर्शक तान्न नसक्दा स्वस्तिमाको स्टारडमको प्रश्न पनि उब्जिएको छ। यसैले पनि स्वस्तिमाका लागि चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट–३’ विशेष छ।
यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा स्वस्तिमाको यो बर्ष सुखद तरिकाले बिदा हुनेछ। यदि, यो चलचित्र पनि चलेन भने स्वस्तिमाको एकै बर्षमा असफलताको ‘ह्याट्रिक’ नै हुनेछ। स्वस्तिमा, वि.सं २०७६ सालको बिदाई सुखद तरिकाले नै गर्न चाहन्छिन्। यसैले, पनि स्वस्तिमा यो चलचित्रका लागि अझै गम्भिर बनेको देख्न सकिन्छ। चलचित्रको छायाँङ्कन सकिए लगतै यसका निर्माता अर्जुन कुमार र कलाकार आमिर गौतमको साथमा स्वस्तिमा मनकामना दर्शक गर्न पुगेकी छिन्।
मनकामनामा चलचित्रको टिमले चलचित्र सफलताको कामना गर्दै पूजा गरेको छ। मनकामनामा भेटिएका आफ्ना फ्यानसँग स्वस्तिमाले तस्वीर पनि खिचाइन्। ‘चपली हाइट–३’ का टिम मात्र होइन, थुप्रै चलचित्रकर्मीहरु चलचित्रको सफलताका लागि पूजा गर्न मनकामना पुग्ने गरेका छन्। त्यसैले स्वस्तिमाको भाकल पुरा होस् भन्ने उनका शुभचिन्तकहरुको कामना छ। निकेश खड्का निर्देशित यो चलचित्रले सस्पेन्स थ्रीलर कथा भन्छ ।