काठमाडौं– केही विदेशी अथितिको लगातार आगमनले सोल्टी होटल प्राय सधैं झिलीमिली बन्दै आएको छ। शनिबार साँझ काठमाडाैंको पाँच तारे होटल सोल्टी संगीतमय बन्यो। ‘अ म्युजिक जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ नामक कार्यक्रमले सोल्टीलाई संगीतमय बनाएको थियो। संगीतकार रंजित गजमेरको सम्मानको लागि यो कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण गायिका आशा भोस्ले थिइन्। कार्यक्रमको अन्त्यतिर माइक हातमा लिएर स्टेज चढेकी आशाले भनिन्, ‘मलाई एअरपोर्टबाट नै भव्य स्वागत गर्नुभयो। यस्तो स्वागत मैले अन्य देशमा पाएको छैन। यहाँको संस्कृतिले मन जित्यो।’ भोस्लेले अगाडि भनिन्। ‘म नेपाललाई निकै माया गर्छु। तर, मलाई नेपाली बोल्न भने आउँदैन।’ उनले आफूलाई नेपाल बोलाएकोमा आयोजकलाई धन्यवाद भनिन्। हस्यौली शैलीमा उनले भनिन्, ‘मलाई नेपाल बोलाउन अलि छिटो गर्नुभयो। अझै ४ वर्ष कुर्नुभएको भए त म माथि गइसक्थेँ। अहिले म ८७ वर्षको भइसकेँ।’
नेपाली दर्शक र श्रोताले देखाउनु भएको मायाका कारण आफू यहाँ आउन पाएकोमा उनले खुसी व्यक्त गरिन। आशाले नेपाली संगीत र वाध्यवाधकको पनि प्रशंसा गर्न भ्याइन्। उनले भनिन्, ‘मलाई लाग्थ्यो हिन्दुस्थानको जस्तो वाध्यवाधक अन्त हुन्न होला। तर, त्यो कुरालाई यहाँका वाध्यवाधकले मिथ्या सावित गरिदिनु भएको छ। नेपालको बाध्यवाधक ‘ए क्लास’ को छ।’ यत्ती भनेपछि उनले ‘झरी बनइी आएछ सावन बोलको गीत गाइन्।
आशाको स्वरमा रेकर्ड भएको यो नै पहिलो गीत थियो। कार्यक्रममा उनले ‘किन बढ्दैछ ढुकढुकी मेरो, डाँडा खोला, आगे आगे तोपैको गोला’ लगायतका गीतहरु सुनाइन्। आशाले गायक रामकृष्ण ढकालसँग पनि प्रस्तुति दिइन्। आशा र रामकृष्णले ‘मोहनी लाग्ला है’ बोलको गीतमा एकसाथ प्रस्तुति दिएका थिए। उमेरले ९ दशक नजिक पुगिसकेकी आशाको स्वरमा मिठास भने उस्तै छ।
रंजित गजमेरले आफ्नो करिअरमा संगीतबद्ध गरेका गीतहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो। रंजितसँगँ काम गरेका प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, मिलन सिंह खाती, इन्द्रजित मिजार, भारती गजमेर, मिलन सोताङ लगायतका गायक,गायिकाले प्रस्तुति दिएका थिए। कतिपय गीत भने नयाँ पुस्ताका गायक(गायिकाले प्रस्तुत गरे।