काठमाडौँ— दरबार मार्ग अर्थात उपत्यकाको सबैभन्दा स्ट्याण्डर्ड सडक। विदेशी पर्यटकहरुको चहलपहल हुने सडक। बिहान होस् या बेलुका मानिससँगै गाडिहरुको पनि उत्तिकै चहलपहल हुने सडक। हो त्यही स्ट्याण्डर्ड सडककाे बीचमा दुर्गन्ध फैलाउँदै ढल बगिरहेको छ।
दरबारमार्गको जुद्ध शालिकबाट करिब पचास मिटर ओरालो लागेपछिको मुख्य सडक खण्ड, जुन बाटो भएर आवतजावत गर्न एकदमै समस्या भएको स्थानिय बताइरहेका छन्। उक्त ढलको पानी याक एण्ड यती, काठमाडौं प्लाजा, राइजिङ मल र त्रिचन्द्र क्याम्पस जाने बिच बाटोसम्म पुगेको छ। यसरी सडकमा करिब १७ दिनदेखि ढल बगिरहँदा बाटो हिड्ने बटुवाहरु नाक थुन्दै हिँडिरहेका छन्।
त्यति मात्रै हैन विदेशी पर्यटकहरु हिँड्दै गर्दा परबाट आइरहेको गाडीले ढलको पानी उनीहरुले जिउमै पर्नेगरी हुत्त्याइदिन्छ। तर काठमाडौंको मुटु मानिने दरबार मार्ग सडकको यो बिजोगप्रति सम्बन्धित निकाय मौन देखिएको छ। नेपाल सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
केहि दिनमा नै भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी भइरहँदा दरबारमार्गको यो सडककाे अवस्था देख्दा के सन्देश बोकेर जान्छन् नेपाल आउने विदेशी पर्यटक? यो देशको लागि नै लाजमर्दौ कुरा हैन र? राजधानीमा अवस्थित त्यो पनि सबैको ध्यान सजिलै पुग्न सक्ने ठाउँको सडकमा लामो समयदेखि ढलको बिजोग भइरहँदा के गर्दै छ त दरबार मार्ग विकास बोर्ड?
काठमाडौंको वडा नं.२८ मा पर्ने उक्त सडकको अवस्थाबारे जानकारी लिँदा वडा कार्यालयले सडक विभाग, काठमाडौं महानगरपालिकाको सहकार्यमा सडक सुधार गर्ने प्रक्रिया अघि बढिसकेको बताएको छ। वडा कार्यालयका अनुसार ४ देखि ५ दिनभित्र दबारमार्ग सडकको ढल व्यवस्थापन हुनेछ। त्यस्तै दरबार मार्गको समग्र विकासका लागि स्थापित दरबार मार्ग विकास बोर्ड भने सम्पर्कमा आउन नै चाहेन।
सरकारले भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउने तयारी गरिरहेको बेला सबै निकायले समन्वय गर्दै यस्ता समस्याहरुको समाधानमा तत्काल चासो देखाउनु जरुरी छ। भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकलाई देशमा भित्र्याउने तयारी भइरहँदा देशको भीभीआइपीसमेत सवार हुने सडकखण्डको अवस्था समयमै सुधार नहुनुले समग्र देशको पर्यटनमा असर पर्नेछ।