मकवानपुर– साठी हजार विद्युत् सेवा लिने ग्राहक रहेको विद्युत् वितरण केन्द्र हेटौँडा शाखामा कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या भएको छ। कार्यालयबाट प्राप्त विवरण अनुसार कर्मचारी र प्रविधिकसहित १ सय ४५ दरबन्दी रहेकोमा हाल १ सय ५ कर्मचारी कार्यरत छन्।
मासिक रु १७ करोड विद्युत् महसुल उठ्ने सो कार्यालयबाट प्राविधिक र अन्य सेवा दिन कर्मचारी अभाव भएको कार्यालय प्रमुख योगेन्द्र ठाकुरले बताए। कर्मचारी अभावका कारण विद्युत् मिटर वितरण, तार र पोल जडान, मर्मत सम्भार तथा ग्रामीण विद्युतीकरणलगायतको समस्या रहेको बताइएको छ।
खासगरी मकवानपुरको उत्तरी क्षेत्रमा पोल तथा तार जल्दा वा टान्सफर्मर बिग्रदा समस्या आउने गरेको गढीका राममोहन अधिकारीले भने। इ विलिङमार्फत विद्युत् राजश्व लिने र महशुल काउन्टरको सङ्ख्या बढाइएकाले सेवाग्राहीलाई समस्या नभएको ठाकुरको भनाइ थियो।
चुस्त दुरुस्त सेवा दिन आफू आएदेखि लागिपरिरहेको तर कर्मचारी अभावले काम गर्न केही असहज भएको उहाँको गुनासो छ। यसैबीच शिवम् सिमेन्ट उद्योग तथा हेटौंँडा सिमेन्टलगायत विभिन्न उद्योगले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल रकम उठाउने प्रक्रिया अगाडि बढाइरहेको त्यहाँको प्रशासन शाखाबाट थाहा भएको छ। रासस