काठमाडौं– काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ। अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ। नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन्।
हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ। त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ। शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ।
काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए। ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ।
प्रमुख शाक्यले रासससँग कुरा गर्दै भने, ‘काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ।’ प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिईसकेका छन्।
रासस