काठमाडौं–बच्चाको भाषा विकास मानिसको मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो। बच्चाको विकास क्रमसँगै बोलीको पनि विकास हुन्छ।
सामान्यतया बच्चाहरुमा १ बर्षको उमेरपछि बोली फुट्ने हुन्छ। बच्चाको बोलीको विकास सामान्यतः ६ महिनाको उमेरदेखि हुन थाल्छ। यो उमेरमा बच्चा ‘आ, उ’ जस्ता आवाज निकाल्न थाल्छ। त्यसैगरी करिब ९ महिनाको उमेरमा बाबा, पापा, मामा जस्ता शब्दहरु निकाल्न थाल्छ।
त्यस्तै १ वर्षको उमेरमा मामा, पापाबाहेक अरु शब्द पनि बोल्ने गर्छ। उमेर बढ्दै गर्दा प्रायःजसो ३ वर्षको उमेरमा बच्चाहरु दैनिक प्रयोगको भाषा बोल्नसक्ने हुन्छन्।बुबा–आमामा बच्चाको बोलीको विषयमा धेरै प्रश्न हुन सक्छन्। कुनै आमाबुबालाई आफ्नो बच्चाको बोली विकासको विषयमा शंका भएमा सम्बन्धित चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ।
बच्चामा बोलीको विकास किन हुदैन्?
कुनैकुनै बच्चाको बोलीमा ढिलाइको मुख्य कारण सुनाइको समस्या हो। सुन्न नसक्ने बच्चाको बोलीको विकास हुँदैन। बच्चाको दिमागको संक्रमणले पनि बच्चाको बोलीमा समस्या पार्नसक्छ।
बच्चाको बोली विकाश नहुनुमा बच्चा जन्मदा भएका समस्याहरु जस्तै उमेर नपुगी जन्मने, नवजात उमेरमा संक्रमण हुने र बोली सक्रिय बनाउने अंगको विकाश नहुने कारणले हुन सक्छ।यस्ता समस्या भएमा चिकित्सकको अनिवार्य सल्लाह लिनुपर्छ।
बच्चाको बोलीमा आमाबुबाको भूमिका
बच्चाको विकास क्रममा उत्सुकता उच्च हुन्छ। बोलीको विकास क्रममा पनि उनीहरु उत्सुकताका साथ अरुको बोली सुन्ने र क्रमशः त्यसै बोली टिपेर बोल्ने गर्छन्।
यस्तो अवस्थामा बाबुआमाले बच्चासँग बोल्न कन्जुसी गर्नु हुँदैन। यिनै कुराकानीबाट बच्चाको बोलीको विकासको जग बस्छ। बच्चाले बोल्न थालेपछि उनीहरुको कुरा धैर्यतापूर्वक सुनिदिनु पनि बुबाआमाको कर्तव्य हो, जसले बच्चालाई बोल्न र सिक्न प्रोत्साहन र हौसला दिन्छ।