विराटनगर– नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मोरङका इन्चार्ज सहित तीन जना कार्यकता हतियारसहित पक्राउ परेका छन्। चन्दा संकलन गर्न हिडेका तीनजनालाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विप्लव समूह मोरङका इन्चार्ज सुन्दरहरैचा नगरपालिका –१० का ५० वर्षीय नरेश भनिने कृष्ण चौलागाई, मोरङ सञ्चार विभाग प्रमुख विराटनगर ८ का ३० वर्षीय क्षितिज पौडेल र पथरीशनिश्चरे नगरपालिका ३ सिद्धार्थ टोलका ५६ वर्षीय चिरञ्जीवि धिताल छन्।
प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद गरेको छ। बेलबारी नगरपालिका – ५ रामपुर स्थित सुनसरी–मोरङ आयोजनाको नहर नजिकैको केराबारीमा लुकाई राखेको अवस्थामा हतियार बरामद भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार चन्दा संकलनका लागि हिडेका विप्लव समुहका नेतालाई विषेश सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई प्रहरीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।सुनसरी प्रहरीले शनिबार बिहान विप्लव समुहको मेची–कोशी इन्चार्ज उमा भूजेल मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह पौडेललाई पक्राउ गरेको थियो।
उनको साथबाट प्रहरीले एक थान रिभल्बर र ५ राउण्ड गोली पनि बरामद गरेको छ। दुई जना उपर चेकजाँच गर्दा स्कुटरको पछाडि बसेकी उमाको साथबाट मेड इन यूएसए लेखेको रिभल्बर र ५ थान गोली तथा ५ वटा मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ।स्कुटर चालक झापाको दमक बेलडाँगीका ३० वर्षीय सुमन सिंह पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ।
मोरङको पथरी शनिश्चरे क्षेत्रमा बैठक बसी छुटेका पाँच मध्ये तीनजनालाई मोरङ प्रहरीले सोही दिन पक्राउ गरेको थियो। उमा र सुमनलाई भने सुनसरी चक्रघट्टीबाट पक्राउ गरेको हो । चन्दा संकलन गर्न हिडेको अवस्थामा उनीहरु समातिएका हुन्।
पाँचहजारदेखि पाँचलाखसम्म चन्दा
प्रहरी स्रोतका अनुसार मोरङ र सुनसरीमा पक्राउ परेका पाँचजनाले चन्दा आतंक मच्चाईरहेका थिए। स्थानीय तह र व्यापारीलाई धम्काउदै उनीहरूले पाँच हजारदेखि पाँचलाखसम्म चन्दा मागिरहेका थिए।विप्लव समुहले स्थानीय सरकार प्रमुख र व्यापारीलाई चन्दा नदिए धम्कीसमेत दिने गरेका थिए।
‘चन्दा उठाउन एउटै व्यक्तीले ५–६ वटासम्म सीम प्रयोग गरेको देखिन्छ।’ प्रहरीस्रोत भन्छ ‘ केही स्थानमा पत्र पनि पठाएका छन्।’पाँच नेता पक्राउ परेपछि पूर्वमा विप्लव समुहको नेटवर्क ध्वस्त भएको प्रहरीले दाबि गरेको छ।