काठमाडौ– अघिल्ला वर्षहरुमा जस्तै यस वर्षको पनि नेपालको पासपोर्ट विश्वकै खराब मध्येको सूचीमा परेको छ। आखिर नेपाली पासपोर्ट किन खराव सूचिमा पर्छ।नेपाली पासपोर्टमा विदेश यात्रा गर्दा हरेकजसो विमानस्थलमा दुःख दिने वा शंकाको रुपमा हेर्ने गरिएको देख्ने भोग्नेका लागि विश्वस्तरमा निस्कने सूचकांकले खासै आश्चर्यमा पार्ने गरेको छैन।
पासपोर्ट विभागका महानिर्देशक रामकाजी खड्का नेपाललाई तल देखाइएको नेपाली पासपोर्टको कागजमा वा छपाइमा कमजोरी भएर नभएको बताउँछन्।
उनको प्रतिक्रिया छ–‘‘कतिपय देशको गुणस्तर जस्तो नहुन पनि सक्छ तर कमजोर पनि छैन। अहिले सार्वजनिक भइरहेका पासपोर्टको इन्डेक्स कुनै मुलुकलाई अरु कति देशले अनएराइभल भिसा दिइरहेका छन् त्यसको आधारमा माथि वा तल पार्ने गरिएको छ। हामीले सरकारी वा कूटनीतिक कर्मचारीलाई अन एराइभल भिसाको व्यवस्था गरेका छौं। नेपालीलाई ३८ मुलुकमा अनएराइभल भिसा दिइन्छ। अरु देशको पासपोर्टलाई हाम्रोमा भन्दा धेरैमा अनएराइभल भिसा दिइन्छ। यो भनेको अरुले हाम्रो देशको समग्र अर्थतन्त्रको हिसाब गरेर गर्ने व्यवहार हो । अन्तर्राष्ट्रिय इन्डेक्सले देखाउने कुरापनि यही हो। जब हामीले अर्थतन्त्र बलियो बनाउन सक्दैनौं त्यतिन्जेल सम्म हाम्रो पासपोर्ट जतिसुकै राम्रो भएपनि यस्तै भइरहन्छ।’’
सबैभन्दा खराब पासपोर्ट
लन्डनमा रहेको हेन्ली एन्ड पासपोर्ट कम्पनीले करिब डेढ दशकदेखि पासपोर्टबारेको यस्तो सूची निकाल्दै आएको छ। सन् २०१९ को इन्डेक्समा नेपालको पासपोर्टलाई विश्वका सबैभन्दा खराब पासपोर्टको सूचीमा राखिएको छ। जसमा १०० नम्बरमा लेबनान र उत्तर कोरिया राखिएका छन् भने नेपाल खराब पासपोर्टमध्येको दोस्रो नम्बर सूची अर्थात् १०१ मा राखिएको छ।
लेबनान र उत्तर कोरियाका नागरिकलाई ३९ देशमा अनएराइभल भिसा दिने र नेपालीलाई ३८ देशले भिसा दिने उल्लेख गरिएको छ।त्यसभन्दा पनि खराब सूचीमा लिबिया र प्यालेस्टाइन भूभाग र सुडानलाई १०२ नम्बरमा ३७ देशले अनएराइभल भिसा दिने मुलुक र १०३ नम्बरमा यमन जसलाई ३३ मुलुकले त्यस्तो भिसा दिने मुलुकको रुपमा राखिएको छ।
त्यसपछि १०४ मा सोमालिया र पाकिस्तानलाई ३१, १०५ मा सिरिया जसलाई २९ देशले अनएराइभल भिसा दिन्छन् भने १०६ मा इराक जसलाई २७ देशले अनएराइभल भिसा दिने गरेको पाइएको छ। र, सबै भन्दा तल १०६ नम्बरमा अफगानिस्तानलाई २७ देशले भिसा दिने सूचीमा राखिएको छ।