काठमाडौं– नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘बोल माया, गलबन्दी’ जस्ता सफल गीतका गायक प्रकाश सपुतलाई अब भने ठुलो पर्दामा दर्शकले हेर्न पाउने भएका छन्। वि.सं २०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को दोस्रो सिरिज ‘परदेशी–२’ बाट उनले ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन्।
नारायण रायमाझीले निर्देशन गर्ने यो चलचित्रको लागि प्रकाशसँग कागजी सम्झौता भइसकेको छ। प्रकाश सपुत आफ्नो रुचिको विषय भएकाले चलचित्रमा काम गर्न लागेको बताउँछन्। सानै उमेरदेखि चलचित्रमा काम गर्ने मेरो रहर हो। तर, रहर भन्दैमा आफ्नो अहिले भइरहेको करिअरलाई असर पर्ने गरि काम भने गर्ने छैन।’
‘दोहोरी ब्याटल’ हिट भएसँगै प्रकाशलाई धेरै चलचिबाट अफर आएका थिए। ‘बोल माया र गलबन्दी’ को सफलताले उनलाई चलचित्र मेकिङको पनि अफर नआएको होइन। तर, आफूलाई मन पर्ने चलचित्र नपाएपछि उनी पछि हटेका थिए। प्रकाश भन्छन्, ‘यो चलचित्रमा भने टिम पनि राम्रो हुनुहुन्छ। चलचित्रको विषयबस्तु पनि राम्रो छ। त्यसैले काम गर्न तयार भएको हुँ।’
‘परदेशी–२’ ले वैदेशिक रोजगारमा लागेका युवाहरुको कथा भन्नेछ। चलचित्रको अहिले कथामा काम भईरहेको छ। चलचित्रको लागि नायिकाको खोजी भने भईरहेको छ। प्रकाशले अगाडि भने, ‘मेरो ठूलो पर्दामा पनि काम गर्ने रहर थियो। तर, मेरो पेशा भने गायन नै हो।’चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षले लिएको छ। पहिलो सिरिजमा सुपरहिट बनेको सिनेमा राम्रो बन्ने सबैले आशा गरेका छन्।