एजेन्सी– सदाबहार बलिउड सुपरस्टार अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ। उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यो अवार्ड प्रदान गरेका हुन्। भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो। भारतमा ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छन्।
६६ औं ‘राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा अमिताभको स्वास्थ्य अवस्था ठिक नभएपछि उनी उपस्थित हुन सकेका थिएनन्। राष्ट्रपति कोविन्दले यो बर्ष ‘राष्ट्रिय पुरस्कार’ जित्न सफल सबैलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए। सोही समारोहमा अमिताभलाई यो पुरस्कार प्रदान गरिएको हो। यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए।
अमिताभले उक्त समारोहमा भने, ‘भगवानको कृपा, मेरो माता पिताको आर्शिवाद, बलिउडकर्मीको समर्थन र भारतीय जनताको मायाले म यहाँ उपस्थित छु।’ उनले आफू ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताए। केही समय अगाडि बिरामी भएर चिन्तित देखिएका अमिताभ यो कार्यक्रममा एकदमै उत्साहित र फुर्तिलो देखिन्थे।