महेन्द्रनगर– प्रहरीले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामीलाई पक्राउ गरेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारमा युवतीसँग रमाइरहेको अवस्थामा उनलाई पक्राउ गरीएको हो।
धामी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। उनलाई महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट नियन्त्रणमा लिइएको हो। डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो। डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो। प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको बताइएको छ।
आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए।
पक्राउ परेलगत्तै मेयरले आफू जनप्रतिनिधि भएकाे र तत्काल रिहा गर्न भन्दै वडा प्रहरीलाई चेतावनीसमेत दिएकाे बताइएकाे छ।डान्स बारमा दुई समूहबीच विवाद भएको र मेयर धामी विवाद मिलाउन भनेर डान्सबार गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।