मोरङ– बालिका करणी गरेको आरोप लागेका एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन्। मोरङको लेटाङमा १६ वर्षीय बालिका बलात्कार गरेको आरोप लागेपछि मोरङ लेटाङका २२ वर्षीय प्रकाश राईले विष सेवन गरी आत्महत्या प्रयास गरेका हुन्।
राईमाथि शनिबार बालिकालाई करणी गरेको आरोप छ। घटना बाहिरिएपछि प्रकाशले आइतबार बिहान बालीमा लाग्ने किरा मार्न प्रयोग गरिने मेटासिट नामक विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।
परिवारका सदस्यलाई बालिकाले सबै कुरा सुनाएपछि घटना बाहिरिएको र घटनामा संलग्नका विरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। प्रकाशले पक्राउका लागि पुगेको प्रहरीले टोलीले उनले विष सेवन गरेको अवस्थामा फेला पारेको थियो।
राईलाई उद्धार गरी उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्यमा सुधार आएपछि जबर्जस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाकोे विस्तृत अनुसन्धान गरिने जानकारी डीएसपी राईले दिए।