चितवन – बिद्यार्थिसँग लिएको बढी शुल्कको समायोजन गर्न चासो नदेखाएपछि चितवन मेडिकल कलेजका वद्यार्थिहरु फेरी आन्दोलनमा उत्रीने भएका छन्।
बिद्यार्थिहरुले अभिभावक र राजनैतिक दलसँग समन्वय गरी बैठक आह्वान गरिएको थियो। तर बैठकमा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपाने उपस्थित नभएपछि विद्यार्थीहरु थप आन्दोलन गर्ने अवस्थामा पुगेका हुन्।
बिद्यार्थिका अनुसार एमबीबीएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएको भनिए पनि कलेजले अहिलेसम्म पनि फिर्ताको प्रक्रिया सुरु नगरेको बताए। कलेजका ७ जना विद्यार्थी र ७ जना अभिभावकसहित सोमबार काठमाण्डौमा नेकपाका नेता सुवासचन्द नेम्वाङलाई भेट्ने र काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।
सरकारले तोकेको शुल्कभन्दा बढी ६ लाख २५ हजार रुपैयाँ रकम विद्यार्थीसँग कलेजले उठाएको विद्यार्थीले जानकारी दिएका छन् भने कलेजले परीक्षा र रजिस्ट्रेसन शुल्क मात्र फिर्ता दिने कुरामा भने आपति जनाएका छन्। एमबीबीएस पहिलो र दोस्रो वर्षमा सरकारले तोकेभन्दा बढी शुल्क उठाएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।
गएको मंसिर १० गते मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबीच भएको वार्तामा अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएका थिए। बढी लिइएको शुल्क फिर्ता नभएको भन्दै मेडिकल कलेजका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा नै बहिस्कार समेत गरेका थिए।