काठमाडौं– नेपाली चलचित्रमा पौष महिनामा कुनै पनि चलचित्र रिलिज नहुने देखिएको छ। हलमा बलिउड र हलिउड चलचित्रको दबदबा कायमै छ। माघको अन्तिम साता नलागेसम्म दर्शकले नाम चलेका कलाकारको चलचित्र हेर्न पाउने छैनन्। तर, फागुण र चैत्रमा केही चलचित्र रिलिज त हुँदैछन्, तर एक आपसमा ती चलचित्रको भिडन्त हुँदैछ।
कहिले हलमा नै चलचित्र नहुने, कहिले एक आपसमा जुधेरै समस्या पर्ने, नेपाली चलचित्रले यस्तै नियती भोगिरहेको लामो ईतिहास अझैंसम्म कायमै छ। माघको २४ गते नायक विराज भट्टको चलचित्र ‘साङ्लो’ रिलिज हुँदैछ। एक्सन र लभ स्टोरी कथामा बनेको यो चलचित्रले नायक विपिन कार्कीको चलचित्र ‘सेल्फी किङ्ग’ लाई चुनौती दिदैछ। विपिनको चलचित्रले मल्टिप्लेक्स हल र विराजको चलचित्रले सिंगल हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ।
फागुणको ९ गते पनि अर्को भिडन्त हुँदैछ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ एकसाथ रिलिज हुँदैछन्। यी दुबै चलचित्रले मल्टिप्लेक्समा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। सिताराम कट्टेल, कुञ्जना घिमिरे हुनुको फाइदा ‘सेन्टी भाइरस’ ले सिंगल हलमा उठाउन सक्छ। अहिलेकी सर्वाधिक लोकप्रिय मोडल अन्जली अधिकारीको नृत्यमा ‘फनफनी’ गीतले धेरैको मन जितिसकेको छ।
फागुणको २३ गते रिलिज हुन लागेको सुदर्शन थापा निर्दे्शित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लाई भने बलिउड चलचित्र ‘बाघी ३’को चुनौती हुनेछ । ‘म यस्तो गीत गाउँछु २’ मा नायिका पूजा शर्मा र नायक पल शाह छन् भने ‘बाघी ३’ मा टाइगर श्राफ र श्रद्धा कपुर छन्। मल्टिप्लेक्स हलमा ‘म यस्तो गीत गाउँछु २’ लाई ‘बाघी ३’ चुनौती बन्न सक्छ। यस्तै, चैत्र २८ गते रिलिज हुने ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ को भिडन्त पनि यो बर्षको अर्को ठूलो भिडन्त हो। यो मितिमा बलिउड चलचित्र ‘८३’ पनि रिलिज हुने चर्चा छ। यसरी हेर्दा, पौष र माघ महिनामा सुनसान रहेका हल फागुण र चैत्रमा तात्नेछन्। तर, नेपाली चलचित्रलाई भने आफ्नै देशमा बनेका चलचित्र र बलिउड चलचित्रको प्रतिस्पर्धा झेल्नुपर्नेछ।