काठमाडौं– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) विरुद्ध जित निकाल्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ। सोमबार भएको खेलमा मछिन्द्रले एनआरटीलाई १–० गोलले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा मछिन्द्रलाई जिताउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा पनि गोल हुन मुश्किल भएको खेल बराबरीमा धकेलिएको अवस्थामा विदेशी खेलाडीले मछिन्द्रको लागि गोल गरेका थिए। खेलको ९० औं मिनेटमा विदेशी खेलाडी सोमीडीले गोल गर्दै मछिन्द्रलाई ३ अंक दिलाएका हुन्। यो जितपछि मच्छिन्द्रले ४ खेलबाट १० अंक बनाएको छ।