एजेन्सी– नोरा फतेही एक पटक फेरि चर्चामा आएकी छन्। उनी जबजब डान्स फ्लोरमा आउँछिन् उनको डान्सको चर्चा हुन्छ। अहिले उनी रेमो डिसुजाको फिल्म ‘स्ट्रिट डान्सर’ का कारण चर्चामा छिन्। फिल्ममा उनी महत्त्वपूर्ण भूमिकामा छिन्। उनले आफ्नो डान्स कौशल देखाउने राम्रो अवसर पाएकी छन्।
नृत्यको साथमा उनी अभिनय पनि गर्दै छिन्। नोरा स्ट्रिट डान्सरलाई लिएर निकै उत्साहित छिन्। हालै फिल्मको नयाँ गीत रिलिज भएको छ। यो गीतमा उनी अभिनेता बरुण धवनसँग कम्मर मर्काउँदै देखिएकी छन्। उनी आफ्नो डान्सिङ स्टेप्समा सधैं नयाँ प्रयोग गर्छिन्। त्यसैले दर्शक उनको नृत्य हेर्न लालायित हुन्छन्।
अहिले स्ट्रिट डान्सरको नयाँ गीत ‘हाय गर्मी’ ले धूम मच्चाइरहेको छ। नोराका गीत लगातार हिट नम्बरमा रहेका छन्। दिलबर दिलबर पछिपछि निर्माताहरू नोरालाई आफ्नो फिल्ममा नचाउन तँछाडमँछाड गर्न थालेका हुन्। साकी साकी र कमरियाजस्ता गीतमा नाचेर नोराले अलग परिचय बनाएकी छन्। यही कारण स्ट्रिट डान्सरको पूरै कथा डान्समाथि केन्द्रित छ।
आफ्नो फिटनेसका साथै उनी घण्टौंसम्म डान्स अभ्यास गर्छिन्। बिरामी भएको समयमा पनि उनी नाच्न छोड्दिनन्। नोरा भन्छिन्ः, ‘म आफूलाई निकै भाग्यमानी ठान्छु किनकि मेरो नृत्य प्रस्तुतिको आधारमा गीत तयार हुन थालेका छन्। जसमा मलाई आफ्नो नृत्यकला देखाउने अवसर प्राप्त भएको छ।’ उनको एकल गीत ‘बडा पछताओगे’ पनि निकै मन पराइएको थियो। रेमोद्वारा निर्दे्शित फिल्म ‘स्ट्रिट डान्सर’ २४ जनवरी २०२० मा रिलिज हुँदैछ।