काठमाडौं– चर्चित भारतीय गायिका आशा भोस्लेले नेपाल आएको मौकामा पर्यटकीय नगरी चन्द्रागिरीको भ्रमण गरेकी छन्। आइतबार भोस्लेलाई चन्द्रागिरी हिल्स लिमिटेडले स्वागत गरेको हो। उनले त्यहाँ करिब १ घण्टा बिताएकी थिइन्। आफ्नो आवाजको जादूले कुनै समयमा बलिउडमा राज गर्न सफल भोस्लेले कैयौं नेपाली चलचित्रमा समेत आवाज दिएकी छन्। आयोजकका अनुसार उनी पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीसमेत जाने कार्यक्रम रहेको छ।
नेपाली चलचित्र ‘चिनो’, ‘कन्यादान’ लगायतमा पनि उनले स्वर दिएकी छिन्। ‘चुनरिया’ फिल्मको ‘सावन आया रे’ बोलको कोरस गीत, जसमा उनले जोहराबाई अम्बालेवाली र गीता दत्तसँग मिलेर गाएकी थिइन्। सन् १९५७ मा उनलाई त्यो बेलाका चल्तीका संगीतकार मध्येका एक ओ.पी. नैय्यरले गाउने अवसर दिए। फिल्म थियो, ‘तुमसा नही देखा।’
त्यसपछि ‘नया दौर’ (१९५७), ‘लाजवंती’ (१९५८), ‘हावडा ब्रिज’ (१९५८) र ‘चलती का नाम गाडी’ (१९५८) जस्ता फिल्मले उनलाई बलिउडमा स्थापित गरेको थियो। उनी बुधबार काठमाडौं आइपुगेकी हुन्। नेपालीले गरेको सम्मानले उनी धेरै खुसी भएकी देखिन्थिन्।