काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभजिन लिग फुटबलको लिगको चौथो चरणअन्तर्गतकोखेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले एक एक गोलको बराबरी खेलेका छन्। सोमबार भएको खेलमा बराबरी खेल्दै दुबै टोलीले अंक बाँडेका छन्।
अघिल्ला तीन खेलमा लगातार जित निकालेको मनाङ सोमबार फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफमा फरवार्ड रञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। उनले ११ औं मिनेटमा गोल गरेका थिए।
फ्रेन्ड्सका लागि उमेश राईले बराबरी गोल गरेका थिए। उनले रुमेश बर्तौलाको क्रसमा हेड गोल गरेका हुन्। बराबरीपछि पनि मनाङको खातामा १० अंक पुगेको छ। फ्रेन्ड्सले लिगमा पहिलो अंक जोडेको छ।