काठमाडौं — चिकित्सा शिक्षा संघर्ष समिति तथा अभिभावक संघर्ष समितिले निजी मेडिकल कलेजहरुले अहिलेसम्म पनि बढि शुल्क फिर्ता वा समायोजन नगरेको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरुले आफूहरुको माग पूरा नभएसम्मसंघर्ष जारी रहने चेतावनी समेत दिएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएको छ। समितिले आन्दोलनका रूप परिवर्तन हुने तर संघर्ष तथा आन्दोलन नरोकिने चेतावनी दिएको छ।कार्यक्रममा संघर्ष समितिका संयोजक प्रकाश चन्दलेआफूहरुले आन्दोलन तथा संघर्ष सुरु गरेको चार महिना बितिसक्दापनि सरकारले अहिलेसम्म माग पूरा गराउनको लागि प्रभावकारी कदम नचालेको गुनासो पोखे।
उनले भने,‘सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच सहमति भएको छ, तर शुल्क फिर्ता गर्ने कि समायोजन गर्ने भन्नेबारे अहिलेसम्म टुँगो लागेको छैन्। पहिला त यो विषयको टुँगो लाग्नुपर्यो।’ चितवन मेडिकल कलेजले विद्यार्थीहरुसँग लिएको बढि शुल्क ३४ करोड फिर्ता र २२ करोड समायोजन गर्नुपर्ने बताउँदै अहिलेसम्म कलेज सञ्चालकले त्यसबारेमा खासै चासो नदेखाएको उनको आरोप छ।
चन्दले सरकारले गठन गरेको आयोगसँग चिकित्सा शिक्षा अध्ययनरत अभिभावकपनि सन्तुष्ट नभएको जिकिर गरे। उनले भने,‘हामीसँग मेडिकल कलेजहरुले बढि शुल्क लिएको प्रमाण अहिलेपनि सुरक्षित छ, तर यत्रो प्रमाण हुँदापनि नेपाल सरकारका जिम्मेवार निकायहरु गृह मन्त्रालय, शिक्षा मन्त्रालयले किन कदम चालेनन्, उनीहरु अहिलेपनि मौन छन्।’
नेपालमा माफियाले सबै निकायलाई आफ्नो मातहतमा राखिसककेको पनि उनको टिप्पणी थियो। उनले भने,‘हाम्रो एजेण्डा सही छ, हामी दिनदाहाडै शोषित भएका छौं। तर, राज्य टुलुटुलु हेरेर बसिरहेको छ।’ आजमात्रै पनि आफूहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटवार्ता गरेको सुनाए।
उनले भने,‘आजको भेटवार्तामा उहाँहरुले हाम्रो माग पूरा गराउने भन्दै सकारात्मक आश्वासन दिनुभएको छ। उहाँहरुले त यही पुष २१ र २२ गतेभित्रै बढि शुल्कको विषयमा टुँगोमा पुग्ने बताउनुभयो। हामी पनि त्यतिवेलासम्म पर्खिन्छौं।’ आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन नभएसम्म समितिको संघर्ष निरन्तर अघि बढ्ने उनले स्पष्ट पारे।
एम.बि.बि.एसको मात्रै नभई सबै पारा–मेडिक्सहरुको समेत शुल्क फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको चन्दको भनाई छ। उनले थपे,‘पारा–मेडिक्सहरुको पनि बढि शुल्क फिर्ता वा समायोजन हुनुपर्छ। नत्र हामी संघर्षलाई निरन्तरता दिन्छौं।’
चितवन मेडिकल कलेज परिसरभित्रै आफूहरुको आन्दोलनलाई तुहाउने उद्देश्यले हातहतियार छिराईएको आरोप लगाए। चन्दले भने,‘कलेज परिसरभित्र रहेको सिसी टिभी किन हटाईयो ? विद्यार्थीलाई फसाउनको लागि कलेज प्रशासनले यस्तो षड्यन्त्र गरेको हो।
यस प्रकरणमा कलेज प्रशासनले हामीसँग माफी माग्नुपर्छ।’ समस्याको समाधान नभएसम्म विद्यार्थीहरु कुनैपनि शैक्षिक सत्रको परिक्षामा सामेल नहुने उनको भनाई छ। चन्दले आई.ओ.एमका डिन प्रा.डा. जगदिशचन्द्र अग्रवाल अहिलेसम्मकै नालायक डीन भएको पनि गम्भिर आरोप लगाए। उनले भने,‘डिन अग्रवालकै कारणले गर्दा अहिलेको समस्या हामीले भोग्नुपरेको हो। अग्रवाल माफियाहरुसँग मिलेका छन्।’