काठमाण्डौ–गुरुङ समुदायको आज तमुल्होसार नयाँ वर्ष आज मनाइँदैछ। ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
गएराती १२ बजेदेखि मृग वर्ष सकिएर मुसा वर्ष सुरु भएको छ। परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो।तमुल्होसारको अवसरका देशभर गुरुङ बाहुल्यता रहेको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्।
‘‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ।
यस अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिएकामा गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदाय असन्तुष्ट छन्। केही स्थानीय तहले भने यस पर्वका अवसरमा आज सार्वजनिक बिदा दिइका छन्।