एजेन्सी – फुटबलका दुई महारथी अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीचको प्रभुत्वको युग अन्त्य हुने संघारमा छ। रोनाल्डो ३४ तथा मेस्सी ३२ वर्ष नाघिसकेका छन्। त्यसैले यि दुईबीचको अविश्वनीय प्रतिस्पर्धाको युग अन्त्यको संघारमा रहेको बुझ्न सकिन्छ।
दुवै अहिले व्यवसायिक फुटबलमा उत्तरार्धको संघारमा छन्। रोनाल्डो इटालियन क्लब युभेन्ट्स र मेस्सी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। पछिल्लो एक दशक आधुनिक फुटबलमा एकछत्र राज गरेका थिए। २००८ देखि फिफा बालोन डि’ओरको १२ संस्करण मध्ये ११ संस्करणको अवार्ड यि दुई खेलाडीले जित्नुले पनि उनीहरुको राज रहेको प्रस्टै बुझ्न सकिन्छ।

मेस्सीले सर्वाधिक छैटौंपटक तथा रोनाल्डोले पाँचपटक फिफा बालोन डि’ओरको अवार्ड जितेका छन्। यि दुईबीच को उत्कृष्ट भन्नेमा फुटबल पण्डित र समर्थकबीच अझै मतभेद छ। कसैले रोनाल्डोलाई तथा कसैले मेस्सीलाई आधुनिक फुटबलको महारथी रहेको संज्ञा दिइरहेका छन्।
यो अवधिमा मेस्सीले ३६८ तथा रोनाल्डोले ३३४ गोल गरेका छन्। उनीहरु भन्दा लुइस सुआरेज (२३३) गोल धेरै पछि छन्।

मेस्सी र रोनाल्डोबीचको प्रभुत्वको अन्त्यपछि को–कोबीच प्रतिस्पर्धा हुने आँकलन गरिन थालिएको छ। उनीहरु अब खतरामा छन्। अझ भन्नुपर्दा उनीहरुलाई पछि पार्न सक्ने युवा प्रतिभाहरु जन्मिसकेका छन्। यी दुइको प्रभुत्व तोड्दै बालोन डि’ओर अवार्ड जित्न सक्षम देखिसकेका छन्।
नेदरल्यान्ड तथा इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकले अवार्ड जितिसकेका छन्। फ्रान्स तथा पीएसजीका युवा फरवार्ड केलियन एमबाप्पे र पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका जोआओ फेलिक्सबीच अबको दशकमा बालोन डि’ओरको लागि प्रतिस्पर्धा हुने आाँकलन गरिएको छ।

२० वर्षे फ्रान्सका केलियन एमबाप्पेलाई अबको सम्भावित स्टारको रुपमा हेरिएको छ। २०१७ मा एमबाप्पेकै उच्च प्रदर्शनमा मोनाकोले फ्रेन्च लिगको उपाधि तथा मोनाकोलाई च्याम्पियन्स लिगको सेमिफाइन्लसम्मको यात्रा तय गराएको थियो। अर्काे सिजन फ्रेन्च लिग वान प्रतिद्धन्द्धी पीएसजीले लोनमा तथा अर्काे वर्ष कीर्तिमानी १ सय ६६ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको थियो।
यिनै एमबाप्पेको उच्च प्रदर्शनमा फ्रान्सले २०१८ को विश्वकपको उपाधि जित्न सफल भएको थियो। उनले फाइनलसहित कुल ४ गोल गर्न सफल भएका थिए। यही युवा प्रतिभा एमबाप्पेलाई अनुबन्ध गर्न स्पेनिस क्लब रियल मड्रिडले विश्व कीर्तिमानी मुल्यमा अनुबन्ध गर्ने प्रयास गरिरहेको छ। उनलाई आफ्ना लेजेन्ड रोनाल्डोले जस्तै रियललाई माथिल्लो स्तरमा लैजान सक्ने खेलाडीको रुपमा हेरिएको छ।

पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिकोको युवा स्टारलाई एमबाप्पेसँगै अबको दशक राज गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ। बेन्फिकामा उच्च प्रदर्शन गरेपछि उनलाई मड्रिडले कीर्तिमानी १ सय १४ मिलियन पाउन्डमा अनुबन्ध गरेका थिए। एन्टोइन ग्रिजमनले क्लब छाडेपछि उनलाई ग्रिजमनको स्थानमा अनुबन्ध गरेको थियो। फेलिक्सभन्दा अघि नेयमार, एमबाप्पे र फिलिपे कोउटिन्हो बढी मुल्यमा छन्।
एमबाप्पेसँग समान उमेर रहेका फेलिक्सलाई रोनाल्डोसँग तुलना गरिएपनि त्यो भन्दा अघि नै ब्राजिली लेजेन्ड काकासँग तुलना गरिएको थियो। मड्रिडमा भने फेलिक्सले औसत शुरुवात गरेका छन्। एट्लेटिकोमा औसत शुरुवात गरेपनि फेलिक्सको समय अवश्य आउने छ। त्यसैले पनि अवको दशकमा यि दुईबीच नै बढी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यि बाहेक अन्य खेलाडीहरु पनि अबको दशकमा राज गर्न सक्ने खेलाडीको रुपमा उभिएको छ।
बार्सिलोनाका अन्सु फाती पनि अर्काे उदीयमान नाम हो। १७ वर्षे विंगर फातीले बार्सिलोनाको सिनियर टिममा १२ खेलमा तीन गोल गर्दै आफ्नो प्रतिभा देखाइसकेका छन्। इंग्ल्यान्ड तथा जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाडोन सान्चो पनि उत्कृष्ट युवा प्रतिभा हुन्। मार्काेस रासफोर्डले पनि लिगमा लगातार उच्च प्रदर्शन गरिरहेका छन्। फ्रान्की डि जोङ र म्याथ्थिज डि लेग्टले पनि एमबाप्पे र फेलिक्सलाई दवाव दिन सक्नेछन्।

भविष्यमा के हुनेछ केही भन्न सकिदैन तर, अबको दशकमा यिनै खेलाडीहरुबीच नै बालोन डि’ओर अवार्डको लागि मुख्य प्रतिस्पर्धा हुनेछ।