एजेन्सी– जापानी कार उत्पादक कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोन जापानबाट लेबनन पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई जापान छोड्न प्रतिबन्ध लागेको थियो।
लेबननका एक अधिकारीले एएफपी समाचारसंस्थालाई गोन बेरुट पुगेको तर उनी जापानबाट कसरी निस्किए भन्ने कुरा अस्पष्ट रहेको बताए। आर्थिक अनियमितताको आरोपमा गोनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो। उनीलाई विभिन्न अभियोग लगाइएको थियो।
जापानमा मुद्दाको सुनुवाइको हुन बाँकी नै थियो र उनलाई देश छोड्न रोक लगाइएको थियो। गोनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन्।
उनी जापानबाट भागेका हुन् वा अभियोजनकर्ताहरूसँग कुनै सहमति गरेर उनी देशबाहिर गएका हुन् भन्ने कुरा थाहा हुन सकेको छैन। उनीसँग लेबनन र फ्रान्सका राहदानी छन्। फ्रान्सको लेज एको पत्रिकाका अनुसार गोन टर्कीबाट एउटा निजी विमान चढेर लेबनन पुगेका हुन्। तर त्यसको पुष्टि हुन सकेको छैन।
एक स्रोतलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले जापानमा निष्पक्ष सुनुवाइ नहुने डरले गोन टोकियोबाट भागेको उल्लेख गरेको छ। गोनकी पत्नीले गत जुन महिनामा आफूहरूलाई “धम्काउन तथा होच्याउन’’ खोजेको बीबीसीलाई बताएकी थिइन्।
उनका वकिलहरूले जापान सरकारले षड्यन्त्र गरेको आरोप लगाएका छन् र अभियोजनकर्ताहरूले अघि सारेको मुद्दाको राजनीतिक अभिप्राय रहेको दाबी गरेका छन्।
नायकको छवि
ब्रजिलमा जन्मिएका गोन सन् १९९० को दशकताका निसान तथा रेनो कम्पनीलाई झन्डै टाट पल्टिनबाट जोगाउन सफल भएका भनेर परिचित छन्। निसान कम्पनीको कायापलट गरिदिएको भन्दै एक समय उनलाई जापानमा नायकको रूपमा हेरिन्थ्यो।
सन् २०१८ मा पक्राउ परेपछि उनी १०८ दिन हिरासतमा बसे। जमानतमा छुट्दा उनीमाथि जापानबाहिर जान नपाउनेदेखि अन्य विभिन्न किसिमका प्रतिबन्धहरू लगाइएको थियो।
उनीमाथि चार वटा अभियोग लगाइएको छ। निसानले उनले आफ्नो लाभका कम्पनीको रकम प्रयोग गरेको दाबी गरेको छ। उनलाई आफ्नो तलब कम देखाएको आरोप पनि लागेको छ।
पक्राउ परेको तीन दिनपछि उक्त कार उत्पादक कम्पनीले गोनलाई पदबाट हटाएको थियो। गोन पक्राउ पर्दा निसान विश्वको छैटौँ ठूलो कार उत्पादक कम्पनी थियो। बीबीसी