काठमाडौं– चलचित्र चल्यो भने कलाकारले ताली पाउँछ नत्र भने निर्माताको गाली पाउँछ। यो कुनै नौलो कुरा होईन। नायक सुशिल श्रेष्ठ चलचित्र नचल्दाको दबाब महशुस गरिरहेका छन्। किनकी, चलचित्र क्षेत्रमा चलचित्र नचल्दा यसले करिअर लामो समयसम्म अगाडि बढाउन सक्दैन। यो बर्ष उनी अभिनित चलचित्र ‘बादशाह जुट’ चलेन। यसअगाडि पनि उनी अभिनित केही चलचित्र असफल भईसकेका छन्।
यसैले, पनि उनलाई चलचित्र नचल्दाको जिम्मेवारी लिने वा नलिने पनि दोधार छ। चलचित्र ‘लभ डायरिज’ को पत्रकार सम्मेलनमा उनलाई यस्तै जिम्मेवारीको प्रश्न सोधिएको थियो। सुशिल शुरुवातमा त यो प्रश्नको जवाफ दिने मुडमा थिएनन्। तर, पछि उनले आफ्नो कारणले चलचित्र नचलेको भए यसको जिम्मा लिन्छु भन्ने समेत भ्याए।
हुनत, एउटा चलचित्र चल्नुमा कलाकारको मात्र दोष हुँदैन। चलचित्र नचल्नुमा निर्देशक, मेकर, अन्य कलाकार र कथा लेखक, प्राविधिक पनि जिम्मेवार हुन्छन्। नेपालमा कमै मात्र कलाकार छन्, जसको नाममा चलचित्र हेर्न हलसम्म दर्शक जान्छन्। तर, कलाकारको नामले चलचित्रको बारेमा राम्रो चर्चा भने बजारमा हुन आवश्यक छ।
सुशिलले आफूहरुको कारणले चलचित्रको चर्चा नभएको खण्डमा बजारमा जे चलेको छ त्यसमा भर पर्नु निर्माताको अधिकारको कुरा हो भन्न समेत भ्याए। आफ्नो प्रश्नको जवाफ दिन बाध्य भएका सुशिलको यो उत्तर सबैलाई चित्त बुझ्यो।