काठमाडौं– पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ। विभिन्न आश्रम, विद्यालय तथा सडकमा जीवन काटिरहेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो सहयोग गर्न थालिएको हो।
जन्मदिनको दिन गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, आश्रममा पुगी खाना खुवाउने तथा लत्ताकपडा वितरण गर्ने प्रचलन बढेर गएको छ। विभिन्न अवसर पारी दाताहरुले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकहरुले सहज महसुस गर्न थालेका छन्। पत्रकार दीपक भुसालले जन्मदिन पारेर काठमाडौँको कागेश्वरी मनोहरा–७ मा फ्युचर होप नेपालले सञ्चालन गरेको बालआश्रममा पुगी बालबालिकालाई खाना खुवाउनु भएको छ।
आश्रममा २३ जना बालबालिकाले आश्रय लिइरहेका छन्। सबैले होप एजुकेशनल एकेडेमीमा पढ्छन्। एकेडेमीले पचास प्रतिशत छुटमा बालबालिका पढाइरहेको छ। आश्रमले विद्यालयलाई बुझाउने एक महिनाको शुल्कको पचास प्रतिशत रकमसमेत व्यहोर्ने भुसालले बताएका छन्। ‘मैले १० वर्षदेखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो गर्दै आएको थिएँ’, उनले भने, ‘यो वर्ष कुनै अनावश्यक खर्च नगरी सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ।’
उनले प्रत्येक वर्ष समाजिक क्षेत्रमा लगानी गरेर जन्मदिन मनाउने बताएका छन्। ‘सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोही पनि अभावमा बाँच्नु पर्दैन’, उनले भने। फ्युचर होप नेपालका अध्यक्ष रीता सिवाकोटीले बुबाआमाले गरेको समाजसेवाबाट प्रभावित भएर आश्रम सञ्चालन गरेको बताएका छन्। ‘बुबाआमा धार्मिक थीए, उनले भने, ‘बुबाआमाले दुःखी गरिबलाई गरेको सहयोगबाट प्रभावित भएर म पनि समाजिक काममा लागेँ।’
‘आफ्नो लागि, आफ्ना बालबच्चाका लागि र आफ्नो परिवारका लागि गर्नु कुनै ठूलो विषय होइन’, उनले थपे, ‘जस्ले अरूका लागि गर्छ, ऊ नै महान् हो।’ उनले बालबालिकाका लागि चाहिने शैक्षिक सामग्री र खाद्यान्नको अभाव नरहे पनि रकम अभावका कारण विद्यालयमा शुल्क बुझाउन मुस्किल परिरहेको बताएका छन्। (रासस)