काठमाडौं– अर्जुन पोखरेल अहिलेका सबैभन्दा व्यस्त संगीतकार हुन्। उनले संगीत भरेका दर्जनौ गीतहरु चर्चामा छन्। तर, कहिलेकाही अर्जुनले तयार पारेका संगीतले आलोचना पनि भोग्छन्। हालै, अर्जुनले संगीत भरेको चलचित्र ‘लभ डायरिज’ मा समावेश ‘छमछम’ बोलको गीतलाई लिएर चर्को आलोचना भयो।
विशेषगरी, यो गीतको एउटा पाटोमा बाल लोक–गायिका कमला घिमिरेको स्वर पनि समावेश गरिएको छ। कमलाको स्वरलाई चर्चाकै लागि प्रयोग गरिएको देखिन्छ। यो देख्दा सत्य जस्तो पनि लाग्छ। किनकि कमला मिठो आवाजले न्याय गरेर गीत गाउँन सक्ने परिपक्व भईसकेकी छैनन्। पत्रकारले यो पाटोको आलोचना गर्दै गर्दा अर्जुनले भने, ‘कोही मान्छे भाइरल छ भन्दैमा म पछि हुन्नँ, तर भाइरल पनि छ र प्रतिभा पनि छ भने म पछि हुन्छु।
कमला घिमिरेको प्रतिभा नेपालका चलेका लोकदोहोरी गायक–गायिकाको भन्दा पनि अगाडि हुन सक्छ।’ उनले, कथाले मागेको खण्डमा गीतमा प्रयोग गर्दा कसरी वेइज्जत हुन्छ भनेर उल्टै प्रश्न पनि गरे? उनले भने, ‘यदि, निर्माताको कुरामा पनि कन्भिन्स छु र गीत तयार गरेको छु भने यसमा कसरी वेइज्जत हुन्छ र? हामी जस्तो गीतमा नाचेपनि बिहेको समयमा अन्तिममा लोक गीतमा नै नाँच्छौ।’
नेपाली चलचित्रका धेरै मेकरले हिजोआज कथामा विश्वास गर्न छाडेका छन्। धेरैलाई प्रचारका लागि आफ्नै टिम भन्दा पनि सामाजिक सञ्जालमा भाइरल भईरहेका व्यक्तिहरुको साथ चाहिएको छ। अर्जुनले तयार पारेको यो गीतमा कमला घिमिरेको स्वर यसैका लागि मात्र प्रयोग गरिएको कुरामा त दुई मत छैन। अर्जुन जे बोले पनि सत्य यही हो।