काठमाडौं– अंग्रेजी नयाँ वर्ष २०२० नजिकिँदै गर्दा २०१९ वर्षभरिका क्रियाकलापको लेखाजोखा गर्न थालिएको छ। यसै क्रममा, नेपाली दुईपाँग्रे अटोबजारको गतिविधिलाई पनि केलाउन सुरु गरिएको छ।
२०१९मा यामाहा, हिरो, टीभीएस, बजाज, सुजुकी, केटीएम लगायतका कम्पनीले नयाँ मोडलका बाइक तथा स्कुटर नेपाली बजारमा भित्र्याएका थिए। यी कम्पनीले भित्र्याएका केही मोडलले एक वर्षे अवधिमा नै राम्रो प्रभाव छाडेका छन्।
ती मध्ये एफजेडएस एफआई भी–३, केटीएम ड्यूक १२५, टीभीएस १६० डबल डिस्क, यामाहा एमटी–१५, बजाज पल्सर १५० टीडी माडेलका बाइक तथा स्कुटर २०१९को चर्चित दुईपाँग्रे अटोको सुचीमा राख्न सकिन्छ।
१.एफजेडएस एफआई भी–३
यामाहाले २०१९ मा नेपाल भित्र्याएको यो बाइक ३ लाख १८ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ। यो बाइकमा फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक ब्रेकिङ सिस्टम दिइएको छ। कम्पनीले यसको ‘पावरट्रेन’मा ठूलो सुधार गरेको छ। यो बाइकमा १४९ सीसी एयरकुल्ड टु भल्व सिंगल सिलिन्डर इन्जिन उपलब्ध छ। यसले १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५–स्पिड गियरबक्स छ।
नयाँ एफजेड–एफआई भी ३.० पुरानो मोडल जस्तै सार्प र मस्कुलर लुकमा उपलब्ध छ। यद्यपि यसको इन्धन ट्यांकी भने फरक देखिन्छ। इन्धन ट्यांकीको अघिल्लो भागमा ग्रिल जस्तै एयर भेन्ट छ। यसका कारण नै बाइक धेरै दमदार देखिएको छ। यो बाइक सिंगल सिट अप्सनमा पनि उपलब्ध छ।
बाइकमा नयाँ एलोई ह्विल र दुई पटक डिजाइन गरिएको फेन्डर्स छ। पछिल्लो भागमा नयाँ टेल लाइट र बडी वर्क छ। बाइकमा नयाँ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र एलईडी हेडलाइट छ। मेकानिकल्ली यसको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन।
२.केटीएम ड्यूक १२५
२०१९ मा नेपाली बजारमा भित्रिएको केटीएम ड्यूक १२५ को मूल्य चार लाख ४९ हजार रुपैयाँ रहेको छ। अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक गरेको थियो।
सिंगल च्यानल एबीएस, स्प्लिट हेडल्याम्प, आइकोनिक ट्यांक, माइलेज, एफआई पावरट्रेन यसका सवल पक्ष हुन्। यसमा उपलब्ध फोर भल्भ डिओएचसी इन्जिनले १४.५ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ। यसमा सार्प एलइडी डिआरएलएस, एलइडी हेडल्याम्प, एलइडी डिआरएलएस, टचस्क्रिन इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर दिइएको छ।
३.टीभीएस १६० डबल डिस्क
भदौ १० देखि प्रारम्भ भई १५ गते समापन भएको नाडा अटो शोमा यो बाइक लन्च गरिएको थियो। टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले आरटीआर १६० को डबल डिस्क भर्सन सार्वजनिक गरेको हो। यस अघि नेपाली बजारमा यो सिंगल डिस्कमा उपलब्ध रहेको थियो।
नयाँ भर्सनको बाइका अन्य कुनै परिवर्तन भने गरिएको छैन। यसमा भएको १५९ सीसी सिंगल सिलिन्डर इन्जिनले १५.१२ बीएचपी पावर र १३.०३ एनएम टर्क जेनेरेट गर्छ। इन्जिनमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ। यसको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन्।
यसमा उपलब्ध इन्जिनले ८ हजार आरपिएममा १५.११ पीएस पावरसाथै ६५ सय आरपीएममा १३.०३ एनएम टर्क उत्पादन गर्छ। नेपाली बजारमा यो बाइक २ लाख ६४ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ।
४.यामाहा एमटी–१५
यामाहा एमटी १५, एमटी सिरिजको सबैभन्दा कान्छो र यामाहा आर १५ भी३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’ को रुपमा सार्वजनिक भएको हो। नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यो बाइक नेपाली बजारमा भित्र्याएको थियो।
१५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको यामाहा एमटी १५ ले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ।
यो बाइकको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ। साथै कम्पनीले यो वर्ष एफजेड २५ डबल च्यानल एबीएस, मोटोजिपी डबल एबीएस र आर १५ भी थ्री मोटोजिपी गरि पाँच नयाँ बाइक नेपाल भित्र्र्याएको थियो।
५.बजाज पल्सर १५० टीडी
यो बाइक बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता एजएच बजाजले १ सय ५० सीसी सेगमेन्टको पल्सरको नयाँ भर्सन बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा सार्वजनिक गरेको हो।
जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन्। पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ। यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ। यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिनमा पाँच स्पिड ५ गियरबक्स लगाइएको छ।
पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाइजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ। यो बाइक हाल, २ लाख ६६ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको छ।