काठमाडौं – गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै घरभाडामा बस्ने सबैको परिचय पत्र लिएर मात्र घर भाडा दिनु पर्ने बताएको छ।
काठमाडौंं उपत्यका लगायत देशका मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा समेत जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध गरेको छ।
मंगलबार गृहमन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै गृहले आपराधिक गतिविधि रोक्न प्रहरीलाई समेत आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्वं,सात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ।
यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले ‘घरभाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण जानकारी एवम् छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरूको नियमित एवम् अद्यावधिक अभिलेख राख्ने निर्णय भएको छ,’ गृह स्रोतले बताए।
चिनियाँ नागरिक पक्राउपछि विकसित शान्ति सुरक्षाको समीक्षा गर्दै गृहले यस्तो निर्णय लिएको स्रोतले बताए।