पाल्पा– पाल्पामा मगरी खाना महोत्सव हुने भएको छ। नेपाल मगर सङ्घ पाल्पाको आयोजनामा यही पुस २५ गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो। आन्तरिक पर्यटक आगमन बढाउने र मगरी कला संस्कृतिको संरक्षणका लागि महोत्सव फलदायी हुने विश्वास आयोजकको छ। मगर समुदायको मौलिक कला संस्कृतिक संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए।
महोत्सवमा मगरी खानाका परिकार बारा, अचार, तरुल, सखरखण्ड, सुँगुरको मासुलगायतका स्वाद पाइने छ। महोत्सवमा नाचगान गरी भरिपूर्ण मनोरञ्जन लिने सकिने आयोजकको दाबी छ। महोसत्वमा कलासंस्कृतिको प्रदर्शन हुने छ। मगर समुदाय भाषा, कला संस्कृतिमा धनी जाति रहेको छ। सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह थापाले मगर समुदायको आफ्नै पहिचान रहेकोले यसको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको बताए।
यसैबीच मगर समुदायका अगुवाले पहिचानका आधार प्रदेश नम्बर ५ को नामकरण मगरात थारुहट हुनुपर्ने जोड दिएका छन्। नेपाल मगर सङ्घ पाल्पाले माघेसङ्क्रान्तिको अवसरमा पाल्पामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नम्बर ५ को नामकरण मगरात थारुहट हुनुपर्ने हाम्रो माग रहेको नेपाल मगर सङ्घका केन्द्रीय सल्लाहकार केहरसिंह रानाले बताएका छन्। नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तीमगरले प्रदेश नम्बर ५ ले माघेसङ्क्रान्ति पर्वमा सार्वजनिक बिदा घोषणा गरिएकोमा खुशी व्यक्त गरे।
प्रदेश सरकारले माघीसङ्क्रान्ति पर्वमा सार्वजनिक बिदाले मगर समुदायको आत्मसम्मानलाई स्थापित गरेको बताएका छन्। उनले सङ्घीय सरकारले माघेसङ्क्रान्ति पर्वमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गरेको बताए। मगर सङ्घका उपाध्यक्ष शान्ति झेडीले जिल्लाका सरकारी कार्यालयमा शहीद लखन थापाको तस्वीर राख्नुपर्ने माग गरे। मगर सङ्घले संविधान संशोधन गरी मगरलगायत आदिवासी जनजातिका हकअधिकार सुनिश्चित गर्नुपर्ने माग राखेको छ। (रासस)