काठमाडौं– नेपाली गीत संगीतमा नाम चलेपछि जे गरेपनि हुन्छ भन्ने चलन बसेको छ। गीत संगीतको दुनियाँमा अहिले प्रकाश सपुत चर्चित छन्। उनले तयार पारेका गीतहरुले दर्शकको मनमा डेरा जमाएका छन्। ‘बोल माया र गलबन्दी’ जस्ता सफल गीतका गायक प्रकाश सपुत अब नायक बन्ने लहडमा लागेका छन्। उनी चलचित्र ‘परदेशी–२’ बाट नायक बन्न लागेका हुन्।
गायन पेशामा राम्रै चलेका गायकहरु नायक बन्न लागेको यो पहिलो उदाहरण होइन। यो सूचीमा भुवन केसी, रामकृष्ण ढकाल, यम बराल, बाबु बोगटी, यशकुमार, प्रशान्त तामाङ, सत्यराज आचार्य, निमा रुम्बादेखि कोशिष क्षेत्रीसम्म छन्। तर, उनीहरुको चलचित्र करिअर कस्तो छ त? नायक भूवन केसीले कलाकारिता यात्रा गायनबाट नै शुरु गरेका हुन्। भूवनले केही सफल गीतहरुमा आवाज भरेका छन्। भूवन केसी चलचित्रमा पनि सफल भए। आजका दिनमा पनि भूवनको स्टारडम दर्शकमा उस्तै छ।
चर्चित गायक रामकृष्ण ढकालले पनि चलचित्रमा काम गरे। उनले ‘आर्शिवाद’ नामक चलचित्रमा काम गरेका थिए। यो चलचित्रले रामकृष्णको नै कथा बोकेको थियो। तर, रामकृष्णको चलचित्र करिअर भने यसपछि सुखद बनेन। उनी, गायन पेशामा नै चम्किए।गायक यम बराल पनि ‘मालती’ नामक चलचित्रबाट नायक बने। तर, उनको चलचित्र यात्रा सफल हुन सकेन। निर्माता निर्देशकले उनलाई गीत संगीतमा नै रोज्न थाले। नायक बनाउन सुरिनेहरु भएनन्।
त्यस्तै, सत्यराज आचार्यले पनि चलचित्रमा काम गरे। उनले ‘आचार्य’ र ‘साढे सात’ नामक चलचित्रमा काम गरे। तर, दुबै चलचिबाट उनले असफलता खेपे। गायनमा निकै सफल ठहरिएका सत्यराज नायक बन्दा भने सफल हुन सकेनन्। बाबु बोगटी पनि ‘बाटो मुनीको फूल’ बाट नायक बने। बाबुले निरन्तर केही चलचित्रमा काम गरे। तर, उनी टिकिरहन भने सकेनन्। बाबुको चलचित्र यात्रा केही समय चलेपनि सुखद भने नबनेको देखिन्छ। अहिले उनी अमेरिका पुगिसकेका छन्।
सोही चलचित्रबाट नै गायक यश कुमारले पनि चलचित्रमा डेब्यु गरेका थिए। यसपछि, यशले केही चलचित्रमा काम गरे। तर, यशराजलाई दर्शकले नायकको रुपमा भने स्विकार गरेनन्। गायक निमा रुम्बाको अवस्था पनि उस्तै छ। उनले ‘कागबेनी’ नामक चलचित्रमा काम गरे। उक्त चलचित्रबाट निमाको प्रशंसा नै भएको थियो। निमाको चलचित्र यात्रा सुखद बन्न सकेन। गायक प्रशान्त तामाङले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ नामक चलचित्रमा काम गरे। यी दुबै चलचित्र निकै सफल भए। तर, प्रशान्तले चलचित्रमा निरन्तरता दिन भने सकेनन्। उनको चलचित्र यात्रा सुखद रहेन।
अहिले चल्तीमा रहेका गायक कोशिष क्षेत्री पनि चलचित्रमा नायक बन्ने लहडमा छन्। तर, उनले अभिनय गरेका चलचित्रहरु भने सफल भइरहेका छैनन्। दर्शककले कोशिषलाई नायकको रुपमा स्विकारेका छैनन्। नेपालमा गायकहरु नायक बनेर सफल भएका छैनन्। अब, गायक प्रकाश सपुतको चलचित्र यात्रा कस्तो रहने हो, यसका लागि केही समय प्रतिक्षा गर्नैपर्छ। सबै कुरा गर्न खोज्दा प्रकाश पनि चिप्लिए भने उनलाई बल्ल खाईस भन्नेहरु धेरै छन्, किनकि प्रकाश पहिले पनि धेरै विवादमा आएका छन्। यो कुरामा उनले राम्ररी बिचार पुर्याएको राम्रो।