एजेन्सी– अंग्रेजी महिना सन् २००० को दोश्रो शतक आजबाट समाप्त हुँदैछ। सन् २००० को दोश्रो शतक बलिउडका लागि सुखद बन्यो। यो दशकमा बलिउडले कथा भन्ने तरिका भने फेरेको छ। स्टारडम भन्दा पनि यो दशकमा बलिउडमा कथा बिकेको छ। यो दशकको ब्लकबस्टर चलचित्र बलिउडको कुन बन्यो होला? यो कौतुहलता बलिउड फ्यानका लागि पक्कै छ।
यो दशकमा पनि बलिउडले ४ सय करोड क्लबलाई छुन सकेन। यो दशकमा बलिउडमा २ सय र ३ सय करोडको शुरुवात भने भयो। सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ यो दशकको सर्वाधिक धेरै कमाउने बलिउड चलचित्र बनेको छ। भारतमा मात्र नभएर, विश्व बजारमै सर्वाधिक कमाई गर्ने बलिउड चलचित्रको रुपमा ‘दंगल’ बनेको छ। यो चलचित्रले भारतीय बक्स अफिसमा ३८७ करोडको कमाई गर्यो। यो कमाई यो दशकमा अन्य कुनै पनि बलिउड चलचित्रले गर्न सकेनन्।
कमाइको मामालामा मात्र होइन, चलचित्रलाई दर्शक र समिक्षकले सर्वाधिक रुचाए।यो चलचित्रले पहिलो दिन २९ करोडको कमाई गरेको थियो। चलचित्र सन् २०१६ को क्रिसमसमा रिलिज भएको थियो। रिलिज भएको तेश्रो दिन यो चलचित्रले ४२ करोडको कमाई गरेको थियो। चलचित्र चीनमा समेत रिलिज भएपछि यसको विश्वव्यापी कमाई करिब २ हजार करोड नजिक पुगेको थियो।
कुस्ती खेलको कथामा तयार भएको यो चलचित्रमा आमिर खान र उनका छोरीहरुको कथालाई पर्दामा उतारिएको थियो। हुनत, यो दशकमा साउथको चलचित्र ‘बाहुवली–२’ ले भारतीय बक्स अफिसमा चमत्कार नै गरेको थियो। तर, बलिउड चलचित्रको रुपमा ‘दंगल’ दशककै ब्लकबस्टर बन्न सफल भयो। जसले सदा झैं अमिर खानको नाम उच्च राख्यो।