हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधान अनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताएका छन्। नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणलगायत पार्टीको दिगो विकासको सम्बन्धमा बोलेका प्रतिबद्धता पूरा गर्नुपर्ने र पार्टीको विधानअनुसार हिँड्नुपर्ने विचार व्यक्त गरेका छन्।
उनले सरकार र पार्टीले सातै प्रदेशको विकास र समृद्धिमा जोड दिनुपर्ने पनि बताएका छन्। उनले कार्यकर्ताले पदका लागि नभई पार्टीका लागि काम गर्नुपर्ने र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए। पार्टीलाई आगामी दिनमा प्रभावकारी बनाउन सबै तह र समुदायलाई समेटेर काम गर्न उनले सबैलाई आग्रह गरेका छन्। यही पुस २३ गते बस्ने बैठकमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालनका लागि तथा सीमा र एमसिसीलगायत विषयमा निर्णय हुने जानकारी उनले दिए।
कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशमा सक्रियताका साथ समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ उदाहरणीय काम गरेको जिकिर गरेका छन्। राष्ट्रिय सभा, प्रत्यायोजन समितिका सभापति रामनारायण बिंडारीले पार्टी एकतालाई प्रभवकारी बनाउन स्थानीयदेखि केन्द्रसम्म एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गरेका छन्। पार्टीका जिल्ला सहइञ्चार्ज कुमारी मोक्तानले पार्टीलाई अगाडि बढाउन सबैको विश्वास जित्नुपर्छ र समुन्नत समाज बनाउनेतर्फ सबै लाग्नुपर्छ भनेका छन्।
केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले पार्टीले वडादेखि केन्द्रीय तहसम्मको समस्या बुझ्नुपर्ने तथा पार्टीको कामलाई टिकाउनेमा विशेष जोड दिनुपर्ने बताएका छन्। अर्का केन्द्रीय सदस्य केदार न्यौपानेले पार्टीका नेताहरु भाषणमुखी नभई कार्यमुखी हुनुपर्नेमा जोड दिएका छन्। केन्द्रीय सदस्य काशीनाथ अधिकारीले नेता तथा कार्यकर्ताले सरकारको टीकाटिप्पणी गर्नुभन्दा पनि आफ्ना जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताएका छन्। रासस