काठमाडौं — पूर्व पर्यटनमन्त्रीद्धय आनन्द प्रसाद पोखरेल र दिलनाथ गिरी, र नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२० सफल हुने विश्वास दिलाएका छन्। भ्रमण वर्षको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री पोखरेलले भ्रमण वर्ष भव्य रुपमा सफल हुने स्पष्ट पारे।
पोखरेलले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा सफल हुने विश्वास दिलाए। सरकारले भ्रमण वर्षलाई सफल तुल्याउनको लागि सुरुदेखि नै सक्रिय रुपमा काम गरेको बताउँदै भ्रमण वर्ष सफल हुने उनको भनाई छ। उनले भने,‘सन् २०१६ मा म पर्यटनमन्त्री हुँदा भ्रमण वर्षको कामले गति लिएको थियो। मेरो पालामा मैले २०१६ देखि २०२६ सम्मको एक दशकको पर्यटन रणनीति बनाएको थिएँ। त्यो स्विकृतपनि भएको थियो।’ उनले उक्त पर्यटन रणनीतिलाई परिमार्जन गरेर अघि बढ्नुपर्ने सुझाव दिए।
सरकारले सन् २०३० सम्मको लागि दिगो विकासको लक्ष्य लिएको बताउँदै उनले पर्यटन विकासलाई पनि सोहीसँग जोड्न्पर्ने धारणा राखे। उनले नेपालको विकास र समृद्धिको आधार कृषि, जलस्रोतमात्रै नभएर पर्यटनपनि मुख्य आधार भएको सुनाए। उनले भने,‘पर्यटनलाई अब विदेशी मुद्रा आर्जनको माध्यम बनाउनुपर्छ।’
उनले अहिलेपनि नेपालका ४६ जिल्लामा खाद्यान्न अभाव रहेको सुनाए। उनले भने,‘कृषिलाई जबरजस्त निर्यातमुखी बनाउनुपर्छ। नग्दे बालीको रुपमा रहेका कफी, चियाजन्य अर्गानिक उत्पादनलाई निर्यात गर्नुपर्छ।’ पर्यटनको विकासको लागि सबैन्दा पहिले पर्यटकीय गन्तव्य बनाउनुपर्ने, राम्रो हस्पिटालिटी र सुरक्षाको प्रवन्ध गर्नुपर्ने उनले बताए। नेपालमा एक सय वा डेढ सयमात्रै पर्यटकीय गन्तव्य नभएर ७ सय ५३ वटै गाउपालिकामा पर्यटकीय गन्तव्य बनाउनुपर्ने पनि उनले सुझाव दिए।
प्रत्येक जनतालाई पर्यटनसँग जोड्नुपर्ने उनको सुझाव छ। उनले भने,‘यसको लागि स्थानीय र प्रदेश सरकारले विशेष ध्यान दिएर काम गर्नुपर्छ।’ नेपाल ऋगवेदको उद्गमस्थल भएको सुनाउँदै उनले विश्वमा यो चीज कुनैपनि देशमा नभएको बताए। उनले भने,‘त्यस्तै बुद्ध दर्शनको उत्पत्तिपनि नेपालमा नै भएको हो। बुद्ध नेपालमा जन्मिएको मात्रै होईन, विश्वमै यो दर्शन नेपालमै उत्पत्ति भएको हो।’ उनले सगरमाथापनि विश्वमा कहीँ नभएको सुनाउँदै नेपालमा मात्रै रहेको बताए।
उनले नेपालमा २० लाखमात्रै नभएर त्योभन्दा पनि धेरै ठूलो संख्यामा पर्यटकहरु नेपाल आउने दाबी गरे। उनले भने,‘नेपालमा जे कुराको पनि प्राकृतिक आकर्षण छ। सन् २०२० मा २० लाखमात्रै होईन आधा करोड अर्थात पचास लाख पर्यटक नेपाल आउन सक्छन्।’ उनले केही समयभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने हुँदा नेपाल आउने पर्यटकको संख्यापनि बढ्ने विश्वास दिलाए।
निजी क्षेत्रले पनि कसैको मुख नताकी पर्यटन क्षेत्रको विकासको लागि काम गर्नुपर्ने उनले सुझाए। विश्वभरि ४ अर्बभन्दा बढि हिन्दूहरु र एक अर्बको हाराहारीमा बुद्धिष्टहरु रहेको सुनाउँदै उनीहरुलाई नेपाल भ्रमणको लागि आकर्षण गर्न सकिए धेरै फड्को मार्न सकिनेपनि पोखरेलको विश्वास छ।
चिनियाँ पर्यटकहरु नेपाल भ्रमणकोलागि धेरै आउने उनको भनाई छ। उनले भने,‘चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा गर्नुभएको प्रतिबद्धताअनुसार चिनियाँ नागरिकहरु नेपाल भ्रमण वर्षलाई सफल बनाउन चाहन्छन्। उनीहरु ठूलो संख्यामा नेपाल आउने हाम्रो बुझाई छ। सन् २०२० मा पनि चीनबाट ५ देखि १० लाख चिनियाँ नागरिकहरु नेपाल भ्रमणमा आउनेछन्।’